नेपाली निर्माताको बोलीमा विश्वास गर्ने हो भने आजसम्म कुनै पनि नेपाली फिल्म बक्सअफिसमा असफल छैनन् । आत्मरतीमा रमाउन पोस्टरको समेत पैसा उठाउन नसकेको फिल्मले लगानी उठायो भन्दै सफलताको पार्टी दिन नेपाली निर्मातालाई रत्ति पनि सरम लाग्दैन । रिलिजको भोलीपल्टै फिल्मले करोड कमायो भन्दै विदेशमा फिल्म बेच्न केक काटेर नाटक समेत रच्न भ्याउँछन् ।
फिल्म हिट भएको देखाउन केक काट्ने निर्माताको सूचीमा अभिनेत्री ऋचा शर्मा पनि पर्छिन् । उनले निर्माण र अभिनय गरेको फिल्म ‘सुनकेसरी’ ले रिलिजको पाँच दिनमा १ करोड ४ लाख कमाएको भन्दै सिनेमा हलमै केक काटेर खुसीयाली मनाइएको थियो । उनी जस्तो बौद्धिक अभिनेत्रीले विदेशमा फिल्म बेच्न केक काटेर हिटको झ्याली पिटेको भन्दै आलोचना समेत भएको थियो ।
अर्पण थापा निर्देशित यो फिल्म हरर जनरामा निर्माण भएको थियो । तर, फिल्म हेरेपछि दर्शक हाँसेर फर्किए । डराउने सिनमा समेत दर्शकले हाँसो रोक्न सकेका थिएनन् । अन्ततः फिल्मले सिनेमा हलमा घुँडा टेक्यो । अर्थात् फ्लप भयो । प्रदर्शन अगावै यो फिल्मको दोस्रो पार्ट बनाउने घोषणा गरेकी ऋचाले अहिलेसम्म मिडियासामु ‘सुनकेसरी’ फ्लप भएको नै स्वीकार गरेकी छैनन् ।
सोमवार इन्स्टाग्राममा एक प्रशंसकको प्रश्नको जवाफ दिने क्रममा भने उनले फिल्म डिजास्टर भएको स्वीकार गरेकी छन् । ‘सुनकेसरी’ ले हरर फिल्मलाई न्याय गरेको छ ? भन्ने प्रशंसकको प्रश्नमा उनले लेखेकी छन्, ‘अहँ, थिएन । यो भिन्न फिल्म हुन सक्छ । हरर शैलीमा एक गेम चेन्जर । तर, डिजास्टर भयो ।’ उनले ‘सुनकेसरी’ लाई हरर जनरामा एक गेम चेन्जर मानेकी छन् ।




































