काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले राजनीतिक घटनाक्रमबारे असन्तुष्टि व्यक्त गरेकी छन्।

सत्तामा रहेका दल र सत्ता बाहिर आन्दोलनरत दललाई समेत लक्षित गर्दै अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेकी हुन।

बिहिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर करिश्माले अहिलेको राजनीतिले उनलाई मात्र नभएर सबैलाई आजित बनाएको बताएकी छन्।

शिक्षा, स्वास्थ्य, सिनेमा, उद्योग, कृषि कुनै पनि क्षेत्र सन्तोषजनक नभएको उनले लेखेकी छन्।

यस्तो छ अभिनेत्री मानन्धरको फेसबुक स्टाटस

के मैले स्वतन्त्र नागरिकको हैशियतमा मेरा कुरा राख्नै नपाउने हो त?

अहिलेको राजनीतिले मलाई मात्रै होईन, सबैलाई आजित बनाएको छ । शिक्षा, स्वास्थ, सिनेमा, उद्योग, कृषि कुनै पनि क्षेत्र सन्तोषजनक छैन।

कोरोना महामारीले गर्दा देश झण्डै ८ महिना जति ठप्प भयो। अहिले बल्ल बल्ल अर्थतन्त्र चलायमान हुँदैछ।

वितेको १० महिनामा भोकभोकै पैदल घर हिँडेका नेपालीबारे समाचार पढ्यौँ।

उद्योगी व्यापारीहरु तनावमा फसेको, विरामीहरु उपचार नपाएर मरेको, नेपाली कृषकको उत्पादनहरुले बजार नपाउने तर विदेशबाट सबै थोक सजिलै आयात भएर बजार बजार पुग्ने, उखु किसानले उखुको मूल्य नपाउने तर राजनीतिक दलहरु जुँगाको लडाइँमा मात्रै रमाउने गरेको विकृति देखियो।

सरकारको पहिलो प्राथमिकता जनताको सुखसुविधा हुनुपर्ने थियो तर हाम्रो देशमा कुर्सी र पार्टी पार्टी नेता नेता बिचको झगडा पहिलो प्राथमिकता बनेको थियो

त्यहिबिचमा संसद विघटन भयो। संसद विघटन हुने बितिक्कै सबै राजनीतिक दल सडकमा देखिए । कोरोना महामारी पनि विलाएको हो कि?

जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैँलाई मर्का परेपछि सडकमा आउने, भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई म कसरी राम्रो काम गरिरहेका छौ भनेर भनुँ?

राजनीतिक दलहरुको कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर कसरी झुट बोलुँ?

कोरोना महामारी बिच जनताले विभिन्न प्रकारका समस्या भोगेको बेला यिनै राजनीतिक दल यसरी नै सडकमा आई दिएको भए के हुन्थ्यो? कसले रोक्यो त्यतिखेर उनीहरुलाई?

यी विषयमा मलाई चुप लागेर बस्नु उपयुक्त नलागेर स्टाटस लेखेँ । संविधानले मलाई दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेँ।

राजनीतिक दलहरुका विकृति, विसंगति, असफलता, कमजोरीलाई ढाकछोप गरेर बोल्न, आफ्नो नेता र दलको पक्षपोषण गर्न म कुनै राजनीतिक कार्यकर्ता होईन ।

नेपाल राज्यको स्वतन्त्र नागरिक हुँ। मलाई राजनीतिक दल र नेताको होईन, मेरो देश, मेरो राष्ट्रियता र मेरो सार्वभौमिकताको माया लाग्छ।

तपाईको प्रतिक्रिया