गत बर्ष कोभिड-१९ शुरु हुने समयमा सबैभन्दा पहिले फिल्म हलहरु बन्द गरियो । स्वास्थ्य सुरक्षा भन्दै बन्द भएका हलहरु विस्तारै खुल्न थालेको समयमा पुनः बन्द गर्न सिफारिस भईसकेको छ । यसबीचमा केहि फिल्महरु रिलीज पनि भए तर हलमा दर्शकको उपस्थिती खासै भएन । हेर्न चाहेको फिल्म रिलीज नहुँदा हलमा दर्शक नगएको अड्कल गरिरहँदा ठुलो बजेटका फिल्महरु रिलीज भएनन् । हलमा दर्शकको फ्लो हुन्छ या हुँदैन भन्ने बहस चलिरहँदा जोखिम उठाउन निर्माताले चाहेनन् । नयाँ बर्षमा रिलीज तोकिएका फिल्महरु पनि पछि हटे ।

यसैबीच मल्टिप्लेक्स फिल्म हलहरु निर्माणको क्रम भने बढेको छ । कोरोना काल केहि समय रहेतापनि यो नियन्त्रण हुने त निश्चित नै छ तर कति समय लाग्छ त्यो भने भन्न सकिने अवस्था छैन । संसारभर कोभिड-१९ विरुद्द खोप लगाउने कार्य जारी रहँदा दोश्रो चरणको महामारीको डर पनि उत्तिकै छ तर पनि फिल्म हल निर्माणमा भने रौनकता छाएको छ । हाल फिल्म रिलीज नभईरहेको समयमा भबिष्यलाई मध्यनजर गर्दै देशभर आधुनिक पर्दाहरु थपिँदै गएका छन् ।

दशकौं लामो इतिहास बोकेको काठमाण्डौको चाबहिलमा रहेको गोपीकृष्ण मूभिज् हाल भत्काईएको छ । उक्त स्थानमा हाल मल बनाउने काम तिव्र गतीमा चलिरहेको छ । मलसँगै आधुनिक फिल्म हल उक्त स्थानमा बनाईनेछ । त्यस्तै काठमाण्डौको नयाँ बानेश्वरको आईप्लेक्स मलमा रहेको ‘वन सिनेमाज’मा नयाँ पर्दा थपिएको छ । यहाँ यसअघि २ वटा पर्दा थिए । ‘वन सिनेमाज’ले काठमाण्डौको कालिमाटीमा २ पर्दा सहितको नयाँ हल संचालन गर्ने तयारी पनि गरेको छ । साथै भैरहवा र नेपालगञ्जमा पनि ‘वन सिनेमाज्’ संचालन गर्ने तयारी भईरहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया