काठमाडौं । गायक एवं संगीतकार ज्योती प्रकाशको सन्देशमुलक गीत ‘बोल देउता बोल’ सार्वजनिक भएको छ । चन्द्र भट्टचनको शब्द समावेश भएको उक्त गीतमा ज्योती प्रकाशको आफ्नै आवाज र आफैँले संगीत भरेका छन् ।

त्यस्तै, राजु कार्कीले संगीत संयोजन गीतको भिडियोमा चलचित्र निर्देशक माधवराज खरेल, सञ्चारकर्मी तथा गीतकार लोकराज अधिकारी, सञ्चारकर्मी सुमन पण्डित र राजन थापाले अभिनय गरेका छन् । गीतकार तथा वरिष्ठ सञ्चारकर्मी शान्तिप्रियको निर्देशनमा तयार भएको उक्त भिडियोलाई गोविन्द अन्जानको छायांकन तथा विकास धमलाले सम्पादन गरेका हुन् ।

नेपाली समाजमा जातिय विभेद हुने तथा माथिल्लो जातीले तल्लो जातीलाई होच्याउने, मन्दिरमा प्रवेश गर्न रोक लगाउने जस्ता प्रथालाई अन्त्य नरिनुपर्छ भन्ने सन्देश गीतको शब्द र भिडियोमार्फत दिन खोजिएको गायक ज्योती प्रकाशले बताए । एक मुर्तिकारले बनाएको मुर्ति मन्दिरमा स्थापना गरेपछि स्वयं मुर्तिकारलेनै त्यसलाई छुन वा पूजा गर्न नपाएपछिको दर्दनाक पीडालाई उक्त भिडियोमा देख्न सकिन्छ ।

अभिनयको क्रममा भिडियोमा माधवराज खरेल मुर्तिकार बनेका छन् भने सुमन पण्डित मन्दिरका पूजारी र लोकराज अधिकारी फरक भूमिकामा देखिएका छन् । उक्त भिडियो गायक ज्योती प्रकाश कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उनले यसभन्दा अगाडि पनि धेरै गीतहरु बजारमा ल्याइसकेका छन् ।

तपाईको प्रतिक्रिया