फिल्ममा प्रवेश गर्न जति कठोर संघर्ष गर्नुपर्छ, त्योभन्दा मुश्किल छ यसैमा लामो रेसको घोडा बन्न । नेपाली फिल्ममा वर्षेनी नयाँ अनुहारको प्रवेश बढ्दो छ । पछिल्लो समय हरेक नयाँ फिल्ममा नायक वा नायिका ‘फ्रेस फेस’ हुने गरेका छन् । तर, सफलता भने एकाधले मात्र पाउँछन् । अरु गुमनाम झैँ हुन्छन् । पहिलो फिल्मबाट चम्किएका र हराएका अनुहार यहाँ अनगिन्ती छन् ।

कुरा गरौं रेवती क्षेत्रीको बारेमा । उनले ठूलो सपना बोकेर फिल्म ‘समर लभ’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । ‘समर लभ’ पुस्तकमा आधारित भएर निर्माण भएका कारण फिल्मले राम्रो नतिजा हात पार्ने धेरैको अपेक्षा थियो । तर, पुस्तक जस्तो फिल्मले दर्शकको मन जितेन । फिल्ममा ‘साया’ बनेकी रेवतीले पनि दर्शकमा आफ्नो छाप छाड्न सकिनन् । फिल्म पनि टाँट पल्टियो ।

यो फिल्ममा काम गर्नुभन्दा अगाडि उनले ‘ग्याङ्ग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता भारतीय फिल्ममा सहायक अभिनेत्रीको रुपमा काम गरिसकेकी थिइन् । भारतमा बसेर बलिउडमा स्थापित हुन संघर्ष गरिरहँदा रेवतीलाई ‘समर लभ’ बाट अफर भएको थियो । पुस्तक पढेपछि उनी फिल्म गर्न तयार भएकी थिइन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो ।

एकातिर फिल्म नचल्नु र अर्कोतिर अभिनयको प्रशंसा नहुँदा उनी फिल्म रिलिजसँगै गुमनाम बनिन् । निर्माता तथा निर्देशकले पनि उनलाई नयाँ फिल्मका लागि खोजेनन् । अहिले रेवतीले मुम्बईमा बसेर अभिनयलाई निरन्तरता दिँदै आएकी छन् । उनले इन्स्टाग्राममा सुटिङका तस्विरहरु पोस्ट गरिरहेकी हुन्छिन् । तर, उनलाई बलिउडमा पनि गतिलो अवसर मिल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया