निर्देशक वसन्त निरौलाको नयाँ फिल्म ‘पाँच पाण्डव’ को छायांकन सुरु गरिएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक रूपमा छायांकन थालिएको हो। निर्माण पक्षले ४० दिनको छायांकन तालिका तय गरेको जनाएको छ भने फिल्मका अधिकांश दृश्य झापा जिल्लाका विभिन्न स्थानमा खिचिनेछन्।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) मुख्य भूमिकामा देखिनेछन्। यसअघि फिल्ममा सिताराम कट्टेल (धुर्मुस)को पनि अभिनय रहने बताइएको थियो। तर, उनी हाल अमेरिकामा रहेकाले तत्काल नेपाल फर्कन नसक्ने भएपछि निर्माण पक्षले उनको स्थानमा अभिनेता महेश त्रिपाठीलाई लिएको बताइएको छ भने निर्देशक निरौलाका अनुसार फिल्मको शीर्षक ‘पाँच पाण्डव’ भए पनि यो धार्मिक वा पौराणिक कथामा आधारित छैन। उनले महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको यथार्थ कथा प्रस्तुत गर्ने बताए।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा काली रानी श्रेष्ठ निर्माताको रूपमा रहेकी छन्। फिल्ममा दीपाश्री निरौला र रजनी गुरुङको पनि अभिनय रहनेछ। कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। सञ्चारकर्मी समेत रहेका पौडेल यसअघि फिल्म ‘प्रसाद’का लेखकका रूपमा परिचित छन्। त्यस्तै श्याम तामाङले छायांकन गर्ने फिल्मलाई डल्बी एट्मस साउन्ड प्रविधिमा तयार पारिने जनाइएको छ।

तपाईको प्रतिक्रिया