सन् २०१२ मा रिलिज भएको अक्षय कुमार र परेश रावल अभिनीत सुपरहिट फिल्म ‘ओ माई गड’ (ओएमजी) को चाँडै सिक्वेल निर्माण हुँदैछ । जसमा यसपटक परेशको ठाउँमा अभिनेता पंकज त्रिपाठी देखिँदैछन् । ‘ओ माई गड २’ मा पनि अक्षय कुमार भगवानको अवतारमा देखिने भारतीय भिडियाले बताएका छन् । अघिल्लो पार्टमा उनले भगवान कृष्णको भूमिका निभाएका थिए ।

फिल्ममा अक्षय र पंकज अनुबन्ध भएपछि अभिनेत्रीको खोजीमा रहेको निर्माण टिमले यामी गौतमलाई साइन गरेको छ । केही दिनअघि निर्देशक आदित्य धरसँग लगनगाँठो कसेकी उनको फिल्ममा महत्त्वपूर्ण रोल रहेको बताइएको छ । पहिलो भागमा एक व्यक्तिको भगवानसँगको लडाईं देखाइएको थियो । अब फिल्मको कहानीमा ट्विस्ट दिँदै तीन चरित्रलाई लिडमा राखिएको छ ।

यामी पहिलो पटक अक्षय कुमारसँग काम गर्नका लागि निकै उत्साहित छिन् । फिल्ममा आफ्नो चरित्र मन परेपछि उनले तुरुन्तै काम गर्न स्वीकृति जनाएकी थिइन् । ‘ओ माई गड’ लाई उमेश शुक्लाले निर्देशन गरेका थिए भने सिक्वेलको निर्देशन अमित रायले गर्ने भएका छन् । फिल्मको डेढ वर्षदेखि स्क्रिप्टमा काम भइरहेको छ भने आउँदो सेप्टेम्बरबाट छायांकन सुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया