काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले आर्थिक सहयोग गर्ने भएको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिने कोषले जनाएको छ ।

यस्तै म्युजिक भिडियो कलाकार संघले निशालाई २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक्त रकम निशाका बुबालाई हस्तान्तरण गरेको हो ।

तीन वर्ष अगाडी अभिनय कोर्ष पढ्न भारत पुगेकी निशा देहरादुनमा दुर्घटनामा परेकी थिइन् । दुर्घटनापछि केही समय उनको भारतमै उपचार भएको थियो । तर, कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल फर्किएपछि पनि केही महिना अस्पतालमा उनको उपचार भएको थियो । तर, आर्थिक अवस्थाकै कारण उपचार गर्न गाह्रो भएपछि उनी घरमै थिइन् । घरमा उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएको थियो ।

घरमा अर्धचेत अवस्थामा रहेकी निशाको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि धेरैले सहयोगका लागि चासो देखाएका थिए ।

गत बिहीबारदेखि भने निशाको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । नवजिवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा निशाको निःशुल्क उपचार शुरु भएको हो ।

निशाले तीज दर्जन बढी म्युजिक भिडियो, एक भोजपुरी चलचित्र तथा केही टेलिसिरियलमा काम गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया