नेपाली फिल्मक्षेत्रकी सफल अभिनेत्री नम्रता श्रेष्ठ ३६ वर्ष लागेकी छिन् । सन् २०८५ जुन १४ मा जन्मिएकी नम्रताले सोमबार आफ्नो ३६औँ जन्मदिन मनाएकी हुन् ।
नेपाली फिल्म क्षेत्रमा नम्रता श्रेष्ठलाई जब्बर अभिनेत्री भन्ने गरिन्छ । उनलाई यसअर्थमा जब्बर भनिएको हो कि, उनले आफ्नो जीवनमा आएका उतार-चढावलाई छिचोल्दै फिल्मक्षेत्रमा नै निरन्तर काम गरिरहेकी छिन् ।
‘सानो संसार’बाट फिल्म दुनियाँमा प्रवेश गरेकी नम्रतालाई सुरुवाती दिनदेखि नै सम्भावना बोकेकी अभिनेत्रीका रूपमा हेरिएको थियो । दोस्रो फिल्म ‘मेरो एउटा साथी छ’ हिट भएपछि नम्रताका सुखद दिन सुरु भएका थिए ।
तर, उनको करिअर सधै एकनास रहन सकेन । एक भिडियोले उनको करिअरमा ठूलै असर पुर्यायो । नम्रता आफैँ डिप्रेसनमा पुगिन् । फिल्मक्षेत्रबाट विश्राम लिइन् ।
केही समयको विश्रामपछि नम्रता पुन: फिल्म क्षेत्रमा सक्रिय भएर काम गरिरहेकी छिन् । उनी अहिले पनि मुख्य र सशक्त भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् ।
फिल्म क्षेत्रमा अभिनेत्रीहरूको आयु तोक्ने गरिन्छ । विशेषगरी अभिनेत्रीहरूको आयु पाँचवर्षे हुने भन्ने गरिन्छ । तर, नम्रताको हकमा यो लागू हुँदैन । ‘सानो संसार’देखि ‘जाइरा’सम्म आइपुग्दा उनले प्रमुख भूमिका नै निर्वाह गरिरहेकी छिन् । भलै उनीभन्दा पछाडि फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेत्रीहरू पाखा लागिसके ।
नम्रता अभिनेत्रीहरूको आयु तोक्नु गलत भएको बताउँछिन् । उनी भन्छिन्, ‘कलाकारको आयु हुँदैन । जबसम्म आफूले पाएको भूमिकालाई न्याय गर्नुहुन्छ तबसम्म अभिनेत्रीको आयु रहन्छ ।’
नम्रताले अभिनय गरेको १२ वर्ष बितिसकेको छ । उनी अहिले पनि आफ्नो आयु नसकिएको बताउँछिन् । विदेशी फिल्ममा काम गर्ने अभिनेत्रीहरूको उदाहरण दिँदै नम्रता भन्छिन्, ‘विदेशी फिल्ममा त बुढी-बुढी अभिनेत्रीहरू पनि मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूको आयु सकिएको छैन । मेरो त कसरी सकिन्छ र ?’
अभिनेत्रीहरूले फिल्मको छनोटमा विशेष ध्यान पुर्याउन सके अभिनेत्रीहरूको आयु तोक्ने प्रचलन हटेर जाने नम्रताको विश्वास छ । ‘अभिनेत्रीहरूले आफूलाई नयाँ परिवेशमा घुलमिल गराउँदै लाने र राम्रो काम गर्ने हो भने निर्माताले तपाईंलाई खोज्नेछन् । यदि निरन्तर काम गर्न पाइयो भने आयु सकिँदैन’, नम्रताले सुनाइन् ।
नम्रता आफूलाई लामो समय टिकिरहने अभिनेत्रीमा अपवाद भने मान्दिनन् । आफूजस्तै अन्य केही अभिनेत्रीहरूले पनि लामो समय फिल्म क्षेत्रमा काम गरेको उनको भनाइ छ । उनी भन्छिन्, ‘जसले राम्रो काम गरेको छ त्यसको आयु तोकिएको छैन ।’