इटहरी/ नेपाली चलचित्र उधोग अहिले ठप्प छ । नायक नायिकाहरु म्युजिक भिडियोमा ब्यस्त छन् । मनोरञ्जनका लागि सबै भन्दा ठूलो उधोग हो चलचित्र उधोग । यो उधोगको यतिबेला ढाड सेकिरहेको बेला कलाकार तथा चलचित्र संग सम्बन्धित हस्तिहरुले बिकल्प खोजिरहेका छन् । यता भाषागत चलचित्र उधोगको हालत पनि सोही छ । तरपनि हरेश भने देखिदैन । कोरोना साम्य हुन्छ र पुनः लागिपर्ने छौ भन्दै सम्भव हुने काम भने भैरहेका छन् ।

हामी कुरा गर्दैछौ थारु चलचित्र उधोगको । भाषागत भएका कारण पनि यो उधोग सानो छ । अन्य चलचित्र उधोगसंग प्रतिष्पर्धामा आउन सम्भव छैन । तर, आफ्नो कला, भाषा तथा संस्कृति जोगाउन यो उधोगका हस्तिहरुले हरेश खाएका छैनन् । कला, संस्कृतिकै जगेर्ना गर्न थारु चलचित्र ‘करम-२’ को निर्माण घोषणासंगै कार्य सुरु भएको छ ।

कलाकार तथा निर्देशक पर्शुराम चौधरीका अनुसार यो ३० वर्ष पहिलेको चलचित्र ‘करम’को सिक्वेल हो । ‘करम’ थारु चलचित्र उधोगको पहिलो चलचित्र हो । यतिबेला ‘करम-२’ को गीत रेकर्डिङको काम सुरु भएको उनले जानकारी गराए । ‘करम’ले सो समयमा आयोजना भएको ‘नेपाली भिडियो चलचित्र महोत्सव’ मा सर्वाधिक अवार्ड जित्न सफल भएको थियो । यो चलचित्र २०४६ सालमा निर्माण भएको थियो ।

रेणु चौधरीको निर्माणमा तयार हुन लागेको चलचित्रलाई कलाकार तथा निर्देशक पर्शुराम चौधरीले निर्देशन गर्दैछन् । उनी थारुभाषा चलचित्रका सुपरस्टार हुन् । चलचित्रमा रेणु र पर्शुरामको विशेष भुमिका रहने छ भने अन्य कलाकारहरूको छनौट हुन बाकी रहेको छ । कोरोना कहर साम्य भएको खन्डमा आगामी भदौबाट प्रदेश १ को झुम्काबाट छायांकनको लागि फ्लोरमा जाने निर्माण युनिटको तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया