काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिने घोषणा गरेका उनले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको जानकारी गराए। नेपाल क्रिकेट सङ्घ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उनले उल्लेख गरे। ‘म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो’,पारसले भने।

उनले दुई वर्षअघि नै आफूले अन्तर्राष्ट्रिय क्रिकेटलाई विट मार्ने विषयमा सोचिरहेको र अहिले त्यही सोचलाई कार्यान्वयन गरेको बताए। उनले सन्न्यासबारे सोचे तापनि क्रिकेट टोलीलाई सहयोग गर्नुपर्छ भनेर बसेको बताए।

पूर्वकप्तान पारसले कप्तान र खेलाडीका रुपमा आफूले गर्नसक्ने योगदान राष्ट्रिय टोलीबाट पूरा गरेको बताए।‘क्रिकेटले नै मलाई सबथोक दिएको छ। सबै कुरा पाएको छु। यति हुँदाहुँदै पनि सन्यासका लागि यो सही समय हो भनेर निर्णय लिएको हुँ’, उनले भने।

उनले एकदिवसीय मान्यतालाई अहिले जोगाइराख्ने चुनौती नेपाली क्रिकेट सामु रहेको बताउँदै केही समयमै क्रिकेट एकेडेमीको शुरुआत गरेर देशभर लैजाने योजना रहेको बताए। अलराउण्डर पारसले सन् २००४ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनी त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ का दिन आइसिसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट सिनियर टोलीमा सहभागी भएका थिए।

सन् २००९ मा कप्तानीको भूमिका निर्वाह गरेको खड्का सन् २०१९ मा कप्तानी पद छोडेका थिए। उनले विनोद दासको स्थानमा कप्तानीको भूमिका निर्वाह गरेका थिए। संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी सम्हालेका थिए।

नेपाली क्रिकेटका सफल कप्तानका रुपमा चिनिएका खड्काले आफ्नै कप्तानीमा नेपालले डिभिजन पाँचदेखि तीनसम्मको उपाधि हात पार्न सफल भएको थियो। उनकै कप्तानीमा नेपालले सन् २०१८ मा पहिलो पटक ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो।

त्यसैगरी सन् २०१४ मा बङ्गलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा खड्काकै कप्तानीमा नेपालले प्रतिस्पर्धा गरेको थियो। खड्काले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

दाँयाहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाए भने टी–२० मा ७९९ रन बनाएका थिए। दुवै किसिमका प्रतियोगितामा उन शतक प्रहार गर्न सफल भए। खड्काले उत्कृष्ट बलिङसमेत गरेका थिए। उनले १० एकदिवसीय खेलमा नौ विकेट लिएका थियो भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए। -रासस

तपाईको प्रतिक्रिया