अहिले म्युजिक भिडियोमा निकै छाएकी नायिका हुन्- मलिका महत । भनिन्छ- बजारमा जो बिक्छ उही टिक्छ । नायिका महत र नायक पल शाहको जोडीले केही समय म्युजिक बजार राम्रैसँग ततायो ।

पल र मलिकाको जोडी म्युजिक भिडियोमा मात्र सीमित रहेन, उनीहरू दुवैलाई फिल्म ‘पर्खी बसे’ को सिक्वेलका लागि समेत अफर आयो । फिल्म ‘यात्रा’ बाट सिनेमा क्षेत्रको यात्रा सुरु गरेकी मलिकालाई अहिले थुप्रै अफर आइरहेका छन् । तर उनले आफूलाई फिल्मबाट आएको अफरबारे केही बोलेकी छैनन् ।

त्यसो त कोरोना महामारीको समयमा फिल्म छायाङ्कनदेखि अन्य फिल्मी गतिविधि रोकिएका छन् । तर विभिन्न स्रोत र खबरका अनुसार मलिकालाई थुप्रै फिल्महरूको अफर आइरहेका छन् । तीमध्ये एक हो- फिल्म ‘नाइँ नभन्नु ल ६’ ।

निर्देशक तथा लेखक विकासराज आचार्यले फिल्मको स्क्रिप्टमा काम सुरु गरिसकेका छन् । केही समयअघि उनले फिल्ममा तीन नायिका र एक नायक हुने बताएका थिए ।

तीनमध्ये एक नायक र एक नायिका नयाँ खोजिने बताइएको थियोे । त्यस समय कलाकारको कुरामा विकासले नायक सलोन बस्नेत, बाल–कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा पक्का भइसकेको जानकारी दिएका थिए ।

यही सन्दर्भलाई जोड्दै एक कार्यक्रममा नायिका मलिका महतलाई प्रश्न गरियो- तपाईंलाई ‘नाइँ नभन्नु ल ६’ को अफर आएको छ कि छैन ?

नायिका महतले मुस्कुराउँदै भनिन्- कुरा चाहिँ भएको थियो तर कुरा अगाडि बढेको छैन ।

फिल्म ‘पर्खी बसे २’ मा पनि मौखिक कुरा मात्र भएको उनले बताइन् । यस्तै फिल्म ‘नाइँ नभन्नु ल ६’ का लागि पनि मौखिक कुरा भए पनि कागजी सम्झौता नभइसकेको उनको भनाइ छ ।

फिल्म ‘नाइँ नभन्नु ल ६’ को छायाङ्कन वैशाखको दोस्राे साता सुरु गर्ने योजनामा थिए विकास । तर बढ्दो कोरोना कहरका कारण फिल्मको काम अगाडि बढ्न सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया