काठमाडौँ, १७ भदौ

१३औँ संस्करणको साफ च्याम्पियनसिपको तयारी स्वरूप आज बिहीबार नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुँदैछ । बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने पहिलाे खेलका लागि दुबै टिम जित्नै पर्ने दबावमा छन् । अर्काे खेल २० भदौमा हुनेछ ।

न्युज कारखानाले नेपाल र भारतबीच हुने खेलको लागि ‘प्लेयर्स टु वाच’ तयार पारेको छ । नेपालका अन्जन विष्ट र भारतका मानवीर सिंह प्लेयर्स टु वाचमा रहन्छन् ।

अन्जन विष्ट – नेपाल
भारतविरुद्ध मिडफिल्डर अन्जन नेपालका मुख्य हतियार हुन सक्छन् । २३ वर्षीय उनी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका विश्वासिला खेलाडीसमेत हुन् । मध्यक्रममा यी खेलाडी बल होल्ड गर्न, लामा सट प्रहार गर्न, बल कन्ट्रोल गर्न माहिर छन् । अट्याकर अन्जन विपक्षी टोली डिफेण्डरका लागि टाउको दुखाइको विषय बन्न सक्छन् । भारतविरुद्ध अन्जनको रोल लामाे सटका लागि हुन सक्छन् । अन्जनले फिफा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्धको खेलमा गोल गरेका थिए ।

घरेलु लिगमा मनाङ मर्स्याङदी क्लबको प्रतिनिधित्व गर्ने अन्जनले मिडलाइनसँगै अट्याकमा नवयुग श्रेष्ठसँग सहकार्य गर्न सक्छन् । उमेर समूहका विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका अन्जनले राष्ट्रिय टोलीबाट चार गोल गरेका छन् ।

मानवीर सिंह – भारत
भारतीय फुटबलका अट्याकर मानवीर सिंह बिहीबार दशरथ रंगशालामा उपस्थित सबैको नजरमा पर्नेछन् । पछिल्लो समय मानवीर भारतीय फुटबलका नियमित सदस्य हुन् । नेपालविरुद्ध मैत्रीपूर्ण खेलमा अट्याक लाइनमा मानवीरले कप्तान सुनिल क्षेत्रीसँग सहकार्य गर्नेछन् ।

२५ वर्षीय मानवीरले सन् २०१७ मा मोरिससँगको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । डेब्यु खेलमै प्रभाव जमाएका वेष्ट बंगानका यी खेलाडी त्यस यता भारतीय टोलीका नियमित सदस्य हुन् । मानवीर साफ सुजिकी कप २०१८ का गोल्डेन बुट विजेता समेत हुन् । गत महिना फिफा विश्वकप २०२२ अन्तर्गत भारतले कतारसँग ०-० को बराबरी खेल्दा मानवीरले भारतीय फुटबलमा ठूलो प्रशंसा पाएका थिए ।

बल कन्ट्रोल, आफ्नो एरियामा सहजै विपक्षीलाई दबावमा राख्ने, बल होल्ड गर्ने, लामाे सट प्रहार गर्ने साथै राम्रो फिनिसरका रूपमा मानवीरलाई चिनिन्छ । सुपर लिग क्लब एटिके मोहन बंगालका यी खेलाडी एएफसी कपको समूहमा ‘डि’मा सम्पूर्ण तीन खेल खेल्दै माल्दिभ्सबाट सीधैँ भारतीय टोलीमा जोडिएका हुन् । उनको प्रभाव प्रेरित एटिके मोहन बंगान नकआउट चरणमा प्रवेश गरेको छ ।

तपाईको प्रतिक्रिया