रमेश सुवेदी/न्युज कारखाना

काठमाडौं, २७ भदौ

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु मैदानमा निराशाजनक बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टोलीले पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेका थिएनन् । दोस्रो हाफमा भने सुस्त खेल देखाएका दुवै टोलीले खासै उपयोगी मौका बनाउन सकेनन् ।

यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । नेपालका लागि दुवै गोल डेब्यु खेलाडी प्रीति राई र सविता राना मगरले गरेका थिए ।

खेलको ९ मिनेटमा नेपालले पहिलो मौका बनायो । डिफेण्डर अमृता जैशीले अगाडि बढेर डी-बक्स बाहिरबाट हानेको प्रहार गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो ।

१०औँ मिनेटमा अनिता बस्नेतको पासमा सरु लिम्बूले डी-बक्सबाहिरबाट हानेको प्रहार चक्माले बाहिर पन्च गरिन् ।

खेलको ७ मिनेटमा बंगलादेशले गोल गर्ने सुनौलो अवसर गुमायो । गोल किपर अन्जना रानाले डी-बक्सभित्र फुत्काएको बललाई श्रीमोती सर्कारले खाली पोस्टमा गोल गर्न सकिनन् । उनको प्रहारअघि नै डिफेण्डर गीता रानाले बल खोसेकी थिइन् ।

खेलको ३० मिनेटमा बंगलादेशकी श्रीमोती सर्कारले डी-बक्सबाहिरबाट हानेको प्रहार क्रसबारमाथि लागेर बाहिरियो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा पहिलो मैत्रीपूर्ण खेलबाट तीन जना खेलाडी परिवर्तन गरेका छन् । गोल किपर अन्जना राना मगर, रश्मि घिसिङ र अनिता बस्नेतले सुरुवाती- ११ मा स्थान बनाएका छन् ।

यसअघिको खेलमा एन्जिला तुम्बापो सुब्बा, मञ्जलीकुमारी योन्जन र सविता राना मगरलाई मौका दिइएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेलमा प्रशिक्षक ग्यारीले रजिना थोकरलाई डेब्यु गराएका थिए । खेलको ८९ मिनेटमा रजनी प्रीति राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

दुई मैत्रीपूर्ण खेलमा ग्यारीले पाँच जनालाई डेब्यु गराएका हुन् ।

एएफसी महिला एसिया कप, २०२२ छनोटको तयारीका लागि नेपाल र बंगलादेशले मैत्रीपूर्ण खेल खेलेका हुन् । उज्वेकिस्तानमा हुने समूह ‘एफ’को खेलमा नेपालले फिलिपिन्ससँग २ असोज र हङकङसँग ५ असोजमा खेल्नेछ ।

नेपाली टिम त्यसतर्फ भोलि (सोमबार) प्रस्थान गर्नेछ ।

नेपाली टिम :

गोलरक्षक : अन्जना राना मगर
डिफेण्डर : हीराकुमारी भुजेल, अमृता जैशी, गीता राना, पूजा राना
मिडफिल्डर : सरु लिम्बू, प्रीति राई, रेणुका नगरकोटी
स्ट्राइकर : अनिता बस्नेत, बिमला चौधरी, रश्मि घिसिङ

तपाईको प्रतिक्रिया