काठमाडौं । कलाकारहरु सधैँ व्यस्त हुन्छन् । त्यसमाथि दशैं त कलाकारको लागि थप कमाई गर्ने अवसर पनि हो । दशैंलाई लक्षित गरेर देश विदेशमा हुने कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिन भ्याई नभ्याई हुन्छ । यस्ता कार्यक्रमहरुमा सहभागी हुने कलाकारहरुले दशैं परिवारसँग बसेर मनाउन पाउँदैनन् ।
कतिपय कलाकार चाहिं वर्षैभर व्यस्त भए पनि दशैं र तिहार परिवारसँग बसेर मनाउने इच्छाले यस्ता कार्यक्रमहरुका लागि आउने अफर अस्वीकार गर्छन् । व्यस्त भनेर चिनिएका कलाकारहरुले यसपटकको दशैं कसरी मनाउने योजना बनाइरहेका छन् भनेर हामीले बुझ्ने प्रयास गरेको छौं ।
दीपकराज गिरी
ठूली आमाको स्वर्गारोहणका कारण यसपालि दशैं छैन । तर पनि दशैं आउदा मलाई अर्कै रौनक लागेको छ । कोरोनाका कारण अहिले पनि सबैमा त्रास छ । एक्दम सुरक्षित भएर चाडपर्व मनाउनु पर्ने छ । बजारमा देखिएको भीडभाडले साँच्चै नै दशैं आएको महसुस गराएको छ । तर, यसले संक्रमण बढ्ने हो की भन्ने डर सृजना गरेको छ ।
यसपालि टीका नभएकाले दशैंमा कतै घुम्न जाने की भन्ने सोचमा छु । बिदेश घुम्न जानलाई पिसिआर टेस्ट, केके चाहिन्छ, त्यतिञ्जेल त आफ्नै देशको जुनसुकै स्थानमा पुगीन्छ । पोखरा जाने की भन्ने सोचेको छु । आफ्नो दशैं नभए तापनि आम नेपाली दाजुभाइ दिदीबहिनीमा दशैंको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।
पूजा शर्मा
जुठो परेकाले यसपालि दशैं छैन मेरो । मलाई खासमा दशैं भन्दा तिहार निकै मनपर्छ । झण्डै दुई बर्ष यता कोरोनाका कारण सबैलाई घरको घरमा थन्क्याइ रहेको थियो । अब भने स्थिति सामान्य बन्दै गइरहेको छ । फिल्म पनि रिलिज हुन लागेको छ । त्यसैले यसपालि धेरै खुशी लागेको छ । टीका लगाउन नहुने भए पनि दशैंले आफन्त, आफ्ना मान्छे भेटघाट, कुराकानी गर्ने अवसर जुटाइदिन्छ । त्यो नै खुशीको कुरा हो । म सम्पूर्ण नेपालीमा दशैंको हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।
जीतु नेपाल
दशैंकै लागि भनेर खासै कुनै योजना बनाएको छैन । बिगतका दुई बर्षका दशैं कोरोनाको भयले खल्लो बनायो । यसपालि भने अलि खुल्न पाइएको छ । तर, सर्तक भने हुर्नैैपर्छ । घर परिवार, आफन्तसँग टीका जमरा लगाएर, ठूलाबाट आशीर्वाद लिएर, सानालाई आशीर्वाद दिएर दशैं मनाइन्छ । ससुराली जाने, खाइपीइ गर्ने, पिङ खेल्ने योजना छ ।
प्रियंका कार्की
यसपालिको दशैं मेरा लागि बिशेष छ । भर्खरै घरमा नयाँ मान्छे (छोरी) को आगमन भएको छ । हरेक दिन दशैं जस्तो फिल भइरहेको छ । बितेका दुई बर्षभन्दा यसपालि वातावरण अलि खुल्ला छ । तर पनि सुरक्षित तवरले दशैं मनाउनु पर्छ । म पहिलाका बर्षहरूमा झै सामान्य तवरले परम्परा निभाएर दशैं मनाउछु । यसपालि छुट्टै केही प्लान बनाएकी छैन । सानोमा दशैं भन्ने बित्तिकै नयाँ कपडा, टीका लगाएर पाइने दक्षिणको लोभ लाग्थ्यो । अहिले भने अझ प्रगति होेस् भन्ने मान्यजनको आशीर्वाद प्यारो लाग्छ ।
आश्मा गिरी
कोरोनाका कारण बितेका दशैं खुलेर मनाउन पाइएन । यसपालि पनि पूर्ण रुपले त्रासबिहीन चाहिँ हुन सकिएका छैन । तर पनि लकडाउन नभएकाले स्थिति भने सामान्य बन्दै गइरहेको छ । त्यसैले यसपालि आफन्तहरूकोमा गएर टीका लगाइ दसैँ मनाउन पाइने छ । दशैं मलाई मन पर्ने पर्व हो ।
बाबा मम्मी, हजुर बुबा, हजुर आमाको हातबाट टीका लगाइ आशीर्वाद लिने, परिवारका सबै सदस्य जम्मा हुने, खानपीन, नाचगान गर्ने, हल्का तास पनि खेल्ने गरिन्छ । तर पनि हामीले कोरोना पूरै निर्मुल भइनसकेको कुराको हेक्का चाहिँ राख्नु पर्छ ।
सलोन बस्नेत
मलाई दशैं मन पर्छ । दशैं आउँदैछ भन्ने बित्तिकै कताकता रमाइलो लाग्छ । यसपालि त फूलपातिको दिनदेखि हाम्रो फिल्म ‘डाडाँको बरपीपल’ रिलिज भएको छ । त्यसैले यो दशैं दर्शकमाझ मनाउने योजना छ । कोरोनाका कारण यत्तिका समय हल बन्द थिए । ‘डाँडाको बरपीपल’ बाट फिल्म प्रदर्शन सुुरु भएको छ । दशैंको यो माहौलमा फिल्म प्रेमी सबैलाई हलमै गएर फिल्म हेरिदिनुहुन अनुरोध गर्दछु ।
टीका प्रसाईं
गत बर्ष कोरोनाको प्रकोपले गर्दा चाडपर्वमा समेत हिड्डुल गर्न सकस भयो । यसपालि भने स्थिति समान्य बन्दै गइरहेको छ । त्यसैले म यो दशैं सिन्धुली र झापा पुगेर मनाउने योजनामा छु । घर र माइती, दुवैतिर पुगिन्छ । अब माहौल समान्य बन्दै गइरहेको छ तर पनि भीडभाडदेखि बचेर दशैं मनाउनु हुन म सबै जनामा आग्रह गर्दछु । मेरो सम्पूर्ण शुभचिन्तकलाई बडा दशैंको हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।
रेखा थापा
यसपाली अघिल्लो बर्षभन्दा माहौल अलि रमाइलो छ । तर, हामीले सावधानी चाहिँ अप्नाउनै पर्छ । कोरोनाले गर्दा गत बर्ष त दशैं साहै्र खल्लो भयो । यसपाली भने सबैतिर अलि सहज वातावरण छ । त्यसैले दशैंको रौनक अलि बढेको पाएकी छु ।
म यसपालि काठमाडौंमै दशैं मनाउँछु । मम्मीको हातबाट टीका लगाउँछु । सामाजिक दुरी कायम राख्दै आफ्ना, आफन्तीको हातबाट टीका लगाई आशीर्वाद लिन्छु । यो दसैँमा स्पेशल त्यस्तो केही प्लान गरेकी छैन । हलमा फिल्म प्रदर्शन थालेको देख्दा भने खुशी लागेको छ । घर नजिकै सिफल चौरमा पिङ हालेका छन् । टीकाको दिन भुइँ छोड्नु पर्छ रे, त्यहाँसम्म पुगेर पिङ चाहिँ खेल्नु पर्ला ।
भुवन केसी
गत वर्ष कोरोनाका कारण जारी लकडाउनले निकै सकसका साथ दशैं मनाउनु परेको थियो । तर, यसपाली भने लकडाउन छैन, स्थिति अलि सहज छ । तर, साबधानी भने अपनाउनै पर्छ । म आमसर्वसाधारणले झैँ सामान्य तवरले दशैं मनाउँछु । बुबाआमा, मान्यवरको हातबाट टीका लगाएर आशीर्वाद लिने, आफन्त, आफूभन्दा सानालाई टीका लगाइदिने ।
यो दशैंमा फूलपातीको दिनबाट म बिशेष भूमिकामा अभिनित ‘डाडाको वरपीपल’ फिल्म प्रदर्शनमा आएको छ । कोरोनाका कारण ठप्प रहेको फिल्मी माहौल चलायमान बनाउन फिल्म प्रदर्शन हुन जरुरी छ ।
सोभित बस्नेत भाइले निरन्तर रुपमा फिल्म निर्माण गर्दै प्रदर्शन गरिरहेका छन् । मलाई बल्ल यसपाली दशैं आएझैँ महसुस भएको छ । सबैको फिल्म चलोस्, दुर्गा भवानीले आशीर्वाद दिऊन्, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा बडा दशैंको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।










