काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीले आगामी तीन वर्षसम्म नेपालमै बस्ने भएका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थप दुई वर्षका लागि सम्झौता नवीकरण गरेका हुन् ।

कुवेतका फुटबल म्यानेजर अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । प्रो-लाइसेन्स प्राप्त अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए ।

गत साउन १० गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिन लागेको घोषणा गरेका थिए । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको बताएका थिए । त्यसपछि विवादले उग्ररुप लिएपछि राष्ट्रिय खेलकुद परिषद्ले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले विवादको मुल जड सामाजिक सञ्जालको अत्याधिक प्रयोग, आपसी सम्बन्ध विस्तार हुन नसक्नु, आचारसंहिता पूर्णरुपमा प्रयोग नगर्नु, खेल क्षेत्रमा धुम्रपान र मद्यपानलगायतका क्रियाकलापलाई निरुत्साहन गर्न नसक्नुलगायतका विषय औंल्याउँदै अलमुताइरीलाई सचेत गराउनुपर्ने सुझाव दिएको थियो ।

प्रतिवेदन सार्वजनिक भएपछि अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपाली टोली छाड्ने संकेत गरेका थिए । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिपपछि उनी नेपाल नआइकन सोझै कुवेत गएका थिए ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँगको विशेष छलफलपछि उनी नेपाल फर्किन राजी भएका हुन् । ‘कर्माछिरिङ शेर्पासँगको भेटपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु,’ उनले बुधबार फेसबुकमा स्टाटस लेख्दै लेखेका छन्, ‘हामी चाडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्ने छौं । नेपालको फुटबलको भविष्य राम्रो हुनेछ । तर, त्यसका लागि समय चाहिन्छ । नेपाली समर्थकको माया मलाई मात्र नभएर खेलाडीहरुलाई पनि चाहिएको छ । हामीलाई सहयोग गर्नुहोस् र हामीमा विश्वास गर्नुहोस ।’

एन्फा अध्यक्ष शेर्पाले पनि अलमुताइरी थप दुई वर्षका लागि नेपाल आउन लागेको पुष्टि गरे । नेपाली कांग्रेसको तरुण विभागले बुधबार साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले अलमुताइरीसँग थप दुई वर्षका लागि सम्झौता भएको बताएका छन् । ‘नेपाली टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले थप दुई वर्ष सम्झौता थपेका छन् । उनको नेपाल बसाइले नेपाली फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको छु,’अध्यक्ष शेर्पाले भने ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप फुटबलको २८ वर्षको इतिहासमा नेपाल पहिलो पटक उपाधि नजिक पुगेको थियो । फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग ३-० गोलले पराजित भए पनि फाइनल पुगेर नेपालले ऐतिहासिक उपलब्धि हाँसिल गरेको थियो ।

यसअघिका संस्करणमा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको नेपालको ऐतिहासिक सफलतामा अलमुताइरीले सारथीको भूमिका निर्वाह गरेका थिए । । बिजयादशमीका दिन उनले नेपाली टोलीका सदस्यसँगै दसैंको टीका लगाएका थिए ।

ढाका टोपीमा सजिएर निधारमा लगाएको रातो टीका र कानमा जमरा सिउरिएको उनको तस्बिर निकै भाइरल भएको थियो । मुस्लिम नागरिक अलमुताइरीले नेपालको चाडवाड र संस्कृतिप्रति देखाएको सहिष्णुपूर्ण सद्भावले पनि उनले नेपालीमाझ थप चर्चा कमाएका थिए ।

तपाईको प्रतिक्रिया