मोरङको विराटनगर महानगरपालिका–११ जनपथ मार्गका ३९ वर्षीय भीम कामतको मृत्यु प्रहरी हिरासतमै भएको पुष्टि भएको छ । बिहीबार छानबिन समितिलाई कोसी अस्पतालका चिकित्सकले अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको जनाएको मृतक भीमका दाजु शम्भु कामतले जानकारी दिएका छन् ।

उनका अनुसार हिजो संयोजक तथा मोरङका सहायक जिल्ला अधिकारी शरदकुमार पोखरेलसहित छानबिन समितले मृतकको घर र अस्पताल पुगेर घटनाबारे जानकारी लिएको थियो । भीमलाई प्रहरीले बिरामी भएको भन्दै भदौ २० गते आइतबार दिउँसो साढे १ बजेतिर कोसी अस्पताल पुर्‍याएका थिए । तर अस्पतालले उनको मृत्यु भइसकेको जनाउँदा पनि प्रहरीले अस्पतालमा नै मृत्यु भएको रिपोर्ट बनाउन दबाब दिएको थियो ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले भीमको मृत्यु अस्पताल ल्याउनुअघि नै भएको जनाउँदै प्रहरीको दबाब भने नआएको बताए । सो कुरा बिहीबार पुनः चिकित्सकले दोहोर्‍याएपछि छानबिन समितिले त्यहाबाट निस्किएको शम्भुको भनाइ छ ।

गाँजासहित पक्राउ परेका भीमको गत भदौ २० गते आइतबार दिउँसो साढे १ बजे हिरासतमै मृत्यु भएको थियो । भदौ १८ गते शुक्रबार प्रहरीले भीमको घरमा खानतलासी गर्दा तीन किलो चार सय ८० ग्राम गाँजा फेला परेको थियो । त्यसपछि पक्राउ परेका भीमको हिरासतमा चरम यातनाबाट मृत्यु भएको शम्भुको दाबी छ ।

भाइको मृत्यु भएको ५४ दिनसम्म पनि छानबिन समितिले हात बाँधिदिँदा आफूहरूले न्याय पाउन नसकेको उनको गुनासो छ ।

छानबिन समितिले निष्कर्ष आज दिने

भीमको मृत्युपछि चौतर्फी विरोध प्रदर्शन भएपछि भदौ २१ गते सोमबार नै उक्त प्रकरणको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले सहायक जिल्ला अधिकारी शरदकुमार पोखरेलको नेतृत्वमा गठित समितिमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारी, विराटनगर ११ र १२ का वडाध्यक्ष र कामतको घर नजिकका छिमेकी थिए ।

भिसेरा रिपोर्टका कारण निष्कर्षमा पुग्न नसकिएको छानबिन समितिले बताउँदै आएको छ । तथापि, बुधबार साँझ नै भिसेरा रिपोर्ट आएको छ । रिपोर्ट आएपनि छानबिन समितिको हात लाग्न पाएको छैन । अब, आज १ बजे छानबिन समितिको अन्तिम बैठक बस्न लागेको संयोजक पोखरेलले बताए ।

केटिएम दैनिकमा भीम कामतको मृत्यु प्रकरणबारे प्रकाशित समाचारहरू

छानबिन समिति निष्क्रिय हुँदा अझै निस्किएन निष्कर्ष, फेरि विराटनगर बन्द गर्ने पीडित परिवारको चेतावनी !

प्रहरीको दानवीय ब्यहारबाट हिरासतमै थुनुवाको मृत्यु, अस्पतालमा मरेको रिपोर्ट बनाउन प्रहरीको दबाब

प्रहरीले नै थुनुवाको हत्या गरेको भन्दै विराटनगरमा प्रदर्शन

तपाईको प्रतिक्रिया