काठमाडौं । नेकपा एमालेको महाधिवेशनको मतदानका लागि सबै तयारी पूरा भएको छ । एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार सोमबार राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ ।
दसौं महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने भने पनि अध्यक्षलगायत केही पदमा भने चुनाव हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै अन्य पदमा पनि ओलीले आइतबार पेस गरेको सूचीबाहेकबाट उम्मेदवारी परेपछि चुनाव हुने भएको हो । उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको उम्मेदवारी परेको छ । उनीहरू दुवै ओलीको सूचीबाहिरका हुन् ।
मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ । एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन् । मतदान सम्पन्न भएको ३ घण्टामा मतपरिणाम आउने आयोगले जनाएको छ ।
निर्वाचनका लागि एमालेले इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गर्दैछ । राम–लक्ष्मण रिमालले बनाएको मेसिन चुनावमा प्रयोग गरिन लागिएको हो । दसौं महाधिवेशनका लागि एमालेले राम–लक्ष्मण टिमलाई ईभीएमका लागि डेढ महिनाअघि प्रस्ताव गरेको थियो । त्यसपछि उनीहरूले मेसिन बनाउन सुरु गरेका थिए । राम–लक्ष्मणले हालसम्म मेसिनबाट ९२ वटा चुनाव गरिसकेका छन् ।
मतदान प्रक्रिया सकिएलगत्तै मतपरिणाम सार्वजनिक गर्ने एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले बताए । यसअघि एमाले महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रमा केपी ओलीको प्रस्तावमा ३०१ केन्द्रीय कमिटीसहितको नामावली सार्वजनिक भएको थियो । जसमा १९ जना पदाधिकारीको सूचीसमेत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया