काठमाडौं : नेपाल चलचित्र निर्देशक समाजले जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता गर्ने घोषणा गरेको छ । समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर प्रतियोगिता गर्न लागेको हो।

निर्देशक समाज र युनडीपीद्धारा जारी सूचना अनुसार फिल्मले जात व्यवस्था उन्मुलनसम्बन्धी विषयलाई समेटेर ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने बताएको छ । फिल्मले जातप्रथा समस्यालाई गहिरो गरी बुझाउने र जातप्रथा उन्मुलनसम्बन्धी विद्यमान कानुनलाई लागू गर्न प्रेरित गर्नुलगायतका विषय फिल्ममा समेट्नुपर्ने युएडीपीले जनाएको छ ।

सबैजनाले सहभागी हुन पाउने प्रतियोगितामा भिडियोको प्राविधिक गुणस्तर १०८० सम्म हुनुपर्ने र मोबाइलले खिचेका फिल्म पनि प्रतियोगितामा प्राथमिकता पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुन सक्नेछन् ।समाजलाई चोट पुर्‍याउने वा आरोपित गर्ने भिडियोलाई भने प्रतियोगितामा प्रोत्साहित गर्न नसकिने आयोजकले बताएको छ ।

इच्छुक सहभागीले आउँदो डिसेम्बर महिनाको १० तारिखसम्म भिडियो पठाइसक्नुपर्नेछ । यसरी प्राप्त भिडियोलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र ३ सदस्यीय निर्णायक समितिको मूल्यांकनका आधारमा विजेता घोषणा गरिनेछ ।

सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन फिल्म छनौट हुनेछन् । प्राप्त भिडियो युएनडीपीको पेजमा राखिने र यहाँ राखिएका फिल्मले पाउने दर्शक, अन्तक्रिया र प्रभावका आधारमा मूल्यांकन हुने युनडीपीले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया