काठमाडौं । गायिका रेखा शाहले आफ्ना गीतहरु व्यावसायिक प्रयोजनका निम्ति प्रयोग नगरिदिन आग्रह गरेकी छन् । पछिल्लो समय रियालिटी शो तथा अन्य गायक गायिकाहरुले आफुलाई नसोधि नयाँ ट्रयाक बनाएर गीत गाउन थालेपछि यस्तो कार्य बन्द गर्न आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत नै सो आग्रह गरेकी हुन् । उनले आफ्नो अनुरोधलाई बेवास्ता गरी प्रयोग गरेमा कानूनी कारबाहीमा जाने चेतावनी समेत दिएकी छन् ।
तीन दशकअघि सार्वजनिक रेखाको गीत ‘सिमसिमे पानीमा’ गीत पछिल्लो समय नवोदित कलाकारहरुले स्टेज कार्यक्रममा गाउन थालेका छन् । रेखाकै शब्द, लय र स्वर रहेको गीत अहिले पनि उत्तिकै लोकप्रिय रहेको गीतले रेखालाई रेडियो नेपालमा गाएर स्वर्णपदक जिताएको गीत हो । बिहिबार रेखाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी ,‘अझै मेरो अनुमतिविना म्युजिक ट्रयाक बनाइ गाएकाले एउटा स्रष्टा र सर्जकमाथि अन्याय र हेपाहा प्रवृत्ति देखा परेको मलाई महसुस भएको छ ।’

उनले यसपछि लेखेकी छन्,‘मसँग प्रतिलिपि अधिकार सुरक्षित रहेको मेरो गीत मेरो अनुमतिविना विभिन्न रियालिटी शोमा गाइएका छन् । प्रतिभा पहिचान गर्ने हो भनेर मैले कुनै आयोजकलाई कुनै प्रतिक्रिया दिइनँ । अहिले आएर त्यही प्रतियोगिताहरूमा विजेता बनेका भाइबहिनीहरूले व्यावसायिक प्रयोजनका निम्ति गाइने स्टेज शोहरूमा गाउँदै पैसा कमाइरहेको देखिरहेकी छु ।’

तपाईको प्रतिक्रिया