नबिल बैंकसँग एक्विजेशनमा जान लागेको नेपाल बंगलादेश (एनबी) बैंकले कर्मचारीलाई स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ । एनबी बैंकले एकवर्षदेखि २ वर्षसम्मको तलब दिने गरेर भिआरएस योजना ल्याएको हो । भिआरएसमा जाने कर्मचारीलाई एनबी बैंकले सुविधा दिएर बिदाई गर्ने छ ।

बैंकले कार्यकारी भूमिका कर्मचारीलाई १५ महिनाको तलब दिएर बिदा गर्ने योजना बनाएको छ । यस्तै अफिसर तहका कर्मचारीलाई १८ महिना तथा सहायक तहका कर्मचारीलाई २१ महिना र तल्लो तहका कर्मचारीलाई २४ महिनाको तलब दिएर बिदा गर्ने नीति लिएको छ ।

नबिल बैंक र एनबी बैंकले एक्विजेशनको लागि आगामी जेठको पहिलो साता विशेष साधारणसभा बोलाएका छन् । विशेष साधारणसभाले एक्विजेशन प्रक्रिया अनुमति दिएपछि असारको तेस्रो साताबाट नबिल बैंकको नाममा एकीकृत कारोबार हुने छ ।

एकीकृत कारोबारपछि एनबी बैंकका कर्मचारीको समायोजन प्रक्रिया करिब मिलेको छ । एनबी बैंकका कर्मचारी नबिल बैंकमा समायोजन हुँदा तलब सुविधा घट्ने छैन । कर्मचारी समायोजनका लागि केही कर्मचारीको पद भने घटुवा हुने छ ।

एनबी बैंकले नबिल बैंकसँग एक्विजेशन भएर समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकास योजना (भिआरएस) ल्याएको हो । नेपाल बंगलादेश बैंकलाई प्राप्ति ९एक्वायर०गरेपछि नबिल बैंक मुलुककै दोस्रो ठूलो वाणिज्य बैंक बन्ने भएको छ। यी दुवै बैंकले आगामी ७ जेठका लागि विशेष साधारण सभा बोलाएका छन्।

नबिल बैंकको एक कित्ता सेयर बराबर बंगलादेश बैंकको ०।४३ अनुपात हुने गरी प्राप्ति हुन लागेको हो। अर्थात् अब नेपाल बंगलादेशको एक सय कित्ता सेयर हुनेले नबिलको ४३ कित्ता सेयर पाउने छन्। नेपाल बंगलादेशलाई नबिलले प्राप्ति गरेपछि बन्ने बैंकको नाम नबिल बैंक नै रहनेछ।

यो प्राप्तिपछि नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रूपैयाँ हुनेछ। हाल नबिलको १८ अर्ब ४९ करोड चुक्तापुँजी छ भने नेपाल बंगलादेशको १० अर्ब ८ करोड रूपैयाँ छ। चुक्तापुँजीको आधारमा अब बन्ने नबिल दोस्रो ठूलो वाणिज्य बैंक बन्नेछ। खुद ब्याज आम्दानी, कुल सञ्चालन आय, सञ्चालन आम्दानी, नाफा लगायतका आधारमा भने निजी क्षेत्रको पहिलो बैंक भएको कम्पनीको दाबी छ।

हाल सबभन्दा धेरै चुक्तापुँजी २३ अर्ब ७९ करोड रूपैयाँसहित ग्लोबल आइएमइ देशकै ठूलो बैंक हो।

तपाईको प्रतिक्रिया