केही वर्षयता कलाकार दीपकराज गिरी र जितु नेपालबिचको सम्बन्ध चिसिएको चर्चा छ। उनीहरूले आफूहरूबिच राम्रै सम्बन्ध रहेको बताएता पनि एकसाथ सहकार्य भने गरेका छैनन्। जसकारण पनि उनीहरूबिचको सम्बन्ध पूर्णरूपमा सुमधुर नभएको अनुमान लगाइएको थियो।

आज हास्यकलाकार जितु नेपालको जन्मदिन। दीपकराजले एक फोटो सेयर गर्दै जितुलाई जन्मदिनको शुभकामना दिएका छन्।

‘धेरै शब्दहरू खर्चिने सोचेको थिएँ। तर, यो फोटोले मेरा शब्दहरूलाई आफैँ सम्पादन गरिदियो। समय बदलियो होला, परिस्थिति बदलियो होला तर प्रेम उस्तै छ। प्रिय मित्र जितु नेपाल जन्मदिनको हार्दिक शुभकामना’ उनले युवा अवस्थाको तस्विर सेयर गर्दै लेखेका छन्।

जितुले पनि धन्यावाद दिदैँ लेखेका छन् ‘फेरि यसै गरि सुत्ने हो समय र परीस्थिती हाम्रो सम्बन्ध र प्रेमको अगाडि केही होइन। धन्यवाद गुरुसदा जय होस।’

साथै कलाकार दीपा श्री निरौलाले पनि जितुलाई जन्मदिनको शुभकामना दिएकी छिन्। यसले दीपक/दीपा र जितुको सम्बन्ध सुधार भएको संकेत गर्छ।

दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपालबिच सम्बन्धमा केही समयअघि चिसोपना आएको थियो। जितुले कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्ष रहेकी दीपाश्रीलाई हटाएर करिष्मा मानन्धरलाई ल्याएपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको चर्चा चलेको थियो। यस्तै, छक्कापञ्जाको सिरिजमा पनि जितु दीपक र दीपाका साथमा देखिएका थिएनन्।

तपाईको प्रतिक्रिया