काठमाडौँ । गीतकार हरि उप्रेतीको भक्ति एल्बम ‘प्रभु वन्दना’ सार्वजनिक भएको छ । वैष्णव परिषद् अमेरिकाले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरेको कार्यक्रममा भक्ति एल्बम ‘प्रभु वन्दना’ विमोचन गरिएको छ ।
सयौँ भक्तजनको उपस्थितिमा धार्मिक गुरु स्वामी दामोदर आचार्य तथा गीतकार उप्रेतीका जन्मदिने माता/ पिता तथा कर्म दिने माता/पिता एवं गायक ढकालका माता पिताबाट संयुक्तरुपमा भक्ति एल्बम विमोचन गरिएको हो ।

गीतकार उप्रेतीको अफिसल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘प्रभु वन्दना’मा भीम ढकालको स्वर तथा सङ्गीतकार तृप्ति खड्काको सङ्गीतमा रहेको छ ।
कर्मभूमि अमेरिका बसेर पनि नेपाली साहित्य, गीत सङ्गीतलाई बेजोड माया गर्ने गीतकार उप्रेतीले दर्जनौँ चलचित्रमा गीत लेखिसक्नुभएको छ । उहाँले आधुनिक विधामा गीति एल्बम करुणा भाग १ र भाग २ समेत बजारमा ल्याइसक्नुभएको छ ।
त्यस्तै अडियो बुक ‘मनका तरेलीहरू’ पनि बजारमा ल्याउनुभएका गीतकार उप्रेतीले साहित्यको गजल विधामा पनि कलम चलाउनुभएको छ ।
गीत सङ्गीतका माध्यमबाट जीवन दर्शनको अनुभूति गर्न सकिन्छ भन्ने दृढ विश्वास राख्ने गीतकार उप्रेतीले विगत २५ वर्षदेखि नेपाली साहित्यमा योगदान पुर्‍याउँदै आउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया