म्यूजिक भिडियो हुँदै फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट निर्देशनमा फड्को मारेका विशाल भण्डारी आफ्ना दुई कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी क्लब’को सफलतापछि पुनः फिल्म निर्देशनमा पुनरागमन गर्दैछन् । लकडाउनमा घोषणा गरिएको फिल्म ‘कहानी तिम्रो मेरो’लाई थन्काएर विशालले ओएसआर डिजिटलसँग सहकार्य गर्दै नयाँ फिल्मको निर्देशन गर्न लागेका हुन् ।

आफ्नो दोस्रो फिल्मलाई बलियो बनाउन निर्देशक भण्डारी यतिबेला स्क्रिप्ट र कलाकार छनोटमा मिहिनेत गरिरहेका छन् । यम थापाले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । फिल्मीखबरलाई विश्वस्त स्रोतले दिएको जानकारी अनुसार, उक्त अनटाइटल फिल्मको अफर अभिनेता आर्यन सिग्देललाई गरिएको छ । केही चरणको छलफलपछि फिल्ममा काम गर्न आर्यनले सहमति जनाएका छन् ।

आर्यन र विशालबीच कागजी सम्झौता भने भइसकेको छैन । अबको केही दिनमा एक पोस्टरमार्फत् फिल्मको नाम र आर्यनको लुक्स सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । यो फिल्ममा विशालका अत्यन्त नजिकको मानिने अभिनेत्रीद्वय केकी अधिकारी र ऋचा शर्माको अभिनय रहने वा नरहने टुंगो छैन । तर, फिल्ममा उनीहरु कुनै न कुनै रुपमा आबद्ध हुन सक्ने स्रोतको दाबी छ ।

ओएसआर डिजिटल र भण्डारीको कम्पनी थ्रि प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ । यस वर्ष फिल्मको सम्पूर्ण छायांकन गरेर २०८० सालको विजयादशमीमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ओएसआर डिजिटलसँग सहकार्यको सम्झौतापछि भण्डारीले लेखक थापासँग ३ वर्षदेखि छलफल गर्दै स्क्रिप्ट लेखन गरिरहेको र अब त्यसलाई पर्दामा उतार्न लागेको बताएका थिए ।

तपाईको प्रतिक्रिया