‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा वान्तवा राई (राणा)ले करिब चार वर्षअघि दोस्रो फिल्म ‘आई एम ट्वान्टी वान’को घोषणा गरेकी थिइन् । निर्माण घोषणाको तीन वर्षपछि कोरोना महामारीताका छायांकन भएको फिल्मको अब नामको अगाडि ‘ज्याकी’ थपिएको छ । बिहीबार वसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले एक भिडियोमार्फत् फिल्मको नयाँ नाम ‘रिभिल’ गरेको हो ।

यस फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको छ । धिरज ‘ज्याकी’ पात्रको भूमिकामा रहेकाले फिल्मको नाम चरित्र केन्द्रित राखिएको हो । नयाँ नाम सार्वजनिक गर्न तयार पारिएको भिडियोमा फर्स्टलुक पोस्टर चाँडै सार्वजनिक हुने उल्लेख छ । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । तर, आगामी बैशाख २१ गते फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

‘ज्याकी आई एम ट्वान्टी वान’लाई नेपालको पहिलो डान्स फिल्म भनिएको छ । रेनशा कोरियोग्राफर पनि रहेकाले उनले नृत्यमाथि आधारित भएर फिल्म बनाएकी हुन् । अरुण क्षेत्रीको पनि मुख्य भूमिका रहेको फिल्मलाई प्रज्वल राणा र प्रभु शमशेर जबराले निर्माण गरेका हुन् । ‘इन्टु मिन्टु लण्डनमा’, ‘मेरो एउटा साथी छ’ निर्माण कम्पनी आइकोर फिल्मस्ले फिल्मको निर्माण गरेको हो ।

यो फिल्ममा कालिप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत छ भने सुशन प्रजापतिको छायांकन छ । काठमाडौं, धरान, ललितपुर लगायतका स्थानमा छायांकन भएको यो फिल्मका लागि धिरज र जसिताले एक वर्षभन्दा लामो समय नृत्यको तालिम लिएका थिए । नेपालमा नृत्यको कथामा फिल्म बनाउन गाह्रो रहेको र आफूले निकै चुनौतीपूर्ण काम सकाएको निर्देशक राईले बताएकी छन् ।

 

तपाईको प्रतिक्रिया