‘कृष्ण लीला’ फेम्ड निर्देशक दीपक वलीले अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर बनाउन लागेको फिल्म ‘कामिनो’का लागि अभिनेत्रीको अफर वर्षा सिवाकोटीलाई गरिएको खुलेको छ । मंगलबार वर्षाले आफ्नो फेसबुकमा निर्देशक वली, कार्यकारी निर्माता सुनिल विष्ट गौली र सञ्चार संयोजक लक्ष्मण सुवेदीसँगको एक तस्बिर साझेदार गर्दै ‘भेटघाट’ भनेर क्याप्सन लेखेकी छन् ।

निर्माण टिम र वर्षाबीच केही दिनदेखि निरन्तर संवाद भैरहेको छ । वर्षाले लेखक महेश दवाडीबाट स्क्रिप्ट समेत सुनिसकेकी छन् । उनी टिम, कथावस्तु र चरित्रलाई लिएर सकारात्मक छिन् । केही दिनमा कागजी सम्झौता हुने सम्भावना बलियो छ । फिल्ममा दुई अभिनेत्रीमध्ये एउटा रोलको अफर वर्षालाई गरिएको स्रोतको भनाई छ । विवाहपछि उनले नयाँ फिल्म सम्झौता गरेकी छैनन् ।

पूर्ण लामा क्रियटिभ डिरेक्टर रहेको फिल्म जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि बन्न लागेको हो । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका हुन् । एक्सेस नेपाल फिल्मस्को निर्माण रहने फिल्मको नेपालका साथै ल्याटिन अमेरिकाको विभिन्न स्थानमा छायांकन हुनेछ । फिल्म प्रेम, रोमान्स र सस्पेन्सयुक्त रहने निर्देशक वलीको भनाई छ ।

सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने ‘कामिनो’को स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् । दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनमा छन् । आगामी चैत्र तेश्रो साताबाट छायांकन सुरु हुने फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुनेछ । स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ ।

तपाईको प्रतिक्रिया