- डा. जोत्साना शर्मा

जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्नु क्यान्सर हुनु हो। अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन्। पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख छन्।

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ। महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये धेरै हुने स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ।

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब क्यान्सर हुन्छ। डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन् प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो। यद्यपि, यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार संभव हुन्छ। त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ। यदि त्यस्तो संकेत देखापरेमा सतर्क रहनुपर्छ। चिकित्सकीय परामर्श लिनु पर्छ।

इस्वी संवतको जनवरी महिनालाई क्यान्सरको जागरुकताको महिनाको रुपमा राखिएको छ। पाठेघरको मुखको क्यान्सर सातौँ ‘कमन’ क्यान्सर हो र यो चाहिँ महिलाहरुमा चौथोमा पर्छ। विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ति एचपीभी भ्याक्सिन लगाउने गरिन्छ, जुन ५ देखि १५ वर्ष उमेरका बच्चाहरुलाई दुई डोज खोप र १५ देखि २६ उमेरका मानिसहरुलाई तीन डोज खोप लगाउने गरिन्छ।

त्यस्तै, २६ वर्ष भन्दामाथि उमेर समूहले खोप लगाए पनि त्यसको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ। यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कुरा परीक्षण गरेर थाहा पाउन सकिन्छ। ९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ। महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा रगतको कालो ढिका जस्तो र कहिलेकाहीँ पानी जस्तो रक्तश्राव हुन्छ। त्यस्तै महिनामा दुई–तीन पटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षण हुन्।

कस्तो अवस्थामा परीक्षण गर्ने? लक्षण के हुन्?
महिनावरी नभए पनि बीचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, बढी थकाई लाग्ने, लामो समयसम्म खोकी निको नहुने र तौल घट्दै जानेलगायत लक्षण देखिए तत्काल प्यापस्मेयरको परीक्षण गराउनु पर्छ। यो परीक्षणले संक्रमितको क्यान्सर कुन अवस्थाम छ भन्ने पत्ता लगाउन सकिन्छ।

पाठेघरको मुखको क्यान्सर माथि उल्लेख भएका कारणबाहेक सानै उमेरमा विवाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धुम्रपान गरेमा पनि हुने गर्छ। त्यसैले हरेक महिलाले कम्तिमा वर्षमा एक पटक स्त्रीरोग सम्बन्धी चिकित्सकलाई भेटेर जाँच गर्न जरुरी छ।

यो परीक्षणले भविस्यमा हुने धनजन र खतराबाट बचाउँछ। हामीले उपचारका लागि आउने महिलाहरुलाई यस्ता रोगबाट आउने खतरा, लक्षण र सवाधानका उपायहरुको ज्ञान दिन जरुरी छ।

(डा. शर्मा एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निसन्तान विशेषज्ञको रुपमा कार्यरत छिन्)

तपाईको प्रतिक्रिया