लिमा । भेनेजुएला र पेरुबीच फिफा विश्वकप छनोट खेलमा भएको विवादलाई लिएर तनाव बढेको छ । फिफा विश्वकप अन्तर्गत पेरुविरुद्धको खेलका क्रममा आफ्ना खेलाडीमाथि भएको दुर्व्यवहारप्रति भेनेजुएलाले भर्त्सना गरेको हो ।
पेरुको राजधानी लिमामा बुधबार भएको छनोट खेल एक-एक गोलको बराबरीमा सकिएको थियो । भेनेजुएलाका खेलाडी नाहुएल फरारेसीले खेल पछि आफ्ना समर्थकसँग हात मिलाउन खोज्दा पेरुका प्रहरीले उनलाई रोकेका थिए । सो क्रममा प्रहरीको लाठी चार्जबाट आफ्नो हातमा चोट लागेको उनले स्थानीय सञ्चारमाध्यमलाई बताएका थिए । प्रहरीले दुई पटक लाठी प्रहार गरेको उनको भनाइ थियो ।
भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोद्रिगेज र विदेश मन्त्री युभान गिलले आफ्नो राष्ट्रिय टिममाथि पेरुले गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् ।
भेनेजुएला विश्वकपमा अहिलेसम्म छनोट हुन नसक्ने एक मात्र दक्षिण अमेरिकी राष्ट्र हो । यसपटक भने उसले राम्रो प्रदर्शन गरिरहेको छ। भेनेजुएला ६ खेलबाट ९ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ ।