नेपाल वायुसेवा निगमले बहुप्रतिक्षित नेपाल–अस्ट्रेलिया सिधा उडानको अन्तिम तयारी गरिरहेको जनाएको छ। सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको थियो।

निगमले अस्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाइसकेको र अस्ट्रेलियन नागरिक उड्डयनसँग उडान अनुमतिको प्रतीक्षामा रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

‘अनुमतिका लागि अस्ट्रेलियन नागरिक उड्डयनलाई पत्राचार गरिसकेका छौं। अरू सबै प्रक्रिया पूरा भइसकेको छ। राष्ट्रिय स्तरमा र दूतावासले अनुमतिका लागि पहल गरिरहेको छ। केही महिनाभित्रै उडान सुरू हुनेछ,’ प्रवक्ता पौडेलले भने।

सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि स्लट दिइसकेकाले अब अनुमति पत्रको प्रतीक्षामा रहेको उनले बताए।

‘किङ्सफर्ड स्मिथ अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको छ, अब उडान अनुमति पत्र पर्खिरहेका छौं। अस्ट्रेलियन नागरिक उड्डयन प्राधिकरणमा आवश्यक कागजपत्र सबै पूरा गरेका छौं,’ प्रवक्ता पौडेलले भने ।

उडान अनुमतिका लागि नेपाल सरकार, पर्यटन मन्त्रालय र नेपाल एयरलाइन्सले प्रक्रिया पूरा गरेको र दूतावासले सहजीकरण गरिरहेको निगमले जनाएको छ।

करिब दुई लाख नेपाली बसोबास रहेको अस्ट्रेलियामा नेपालीहरूको आउजाउ बाक्लो हुने गरेको छ।

निगमसँग भएको एयरबस ३३० जहाजले सिधा अस्ट्रेलिया उड्न नसक्ने भएकाले सिंगापुरमा तेल भरेर उडान गर्ने प्रस्ताव पेस गरेको थियो। अब चाँडै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अस्ट्रेलिया उडान गर्नेछ। यसअघि कोभिडको समयमा निगमले सिड्नी र मेलबर्नबाट चार्टर्ड उडान गरिसकेको छ।

तपाईको प्रतिक्रिया