संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिविरुद्ध राजधानी र बाहिरमा जिल्लामासमेत विरोध प्रदर्शन भएको छ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले हिजो राजधानीमा पुत्ला दहन गरेको छ । संघले मन्त्री किरातीले आपत्तिजनक र धार्मिक सहिष्णुुता विरोधी धारणा अभिव्यक्त गरेको जनाउँदै पुत्ला जलाएको हो ।

हिजै राप्रपाको युवक संगठनले सामाखुशीमा हिजो साँझ विरोध प्रदर्शन गरेको छ । सामाखुशीबाट शुरु भएको नाराबाजी गोंगबुमा पुगेर टुंगिएको थियो । संगठनका पूर्वअध्यक्ष फणिराज लोहनीको नेतृत्वमा भएको उक्त कार्यक्रममा सहभागीहरुले हिन्दुराज्य कामय गर, नालायक मन्त्री राजीनामा दे, गणतन्त्र खारेज गरलगायत नारा लगाएका थिए ।

उता जनकपुरको रामानन्द चोकमा पनि मन्त्री किरातीविरुद्ध नाराबाजी र पुत्ला दहन भएको छ । हिन्दु सम्राट सेनाको नेतृत्वमा भएको प्रदर्शन र पुत्ला दहनमा प्रहरीले हस्तक्षेप नगरेको आयोजकहरुले बताएका छन् ।

हिजै साँझ भक्तपुरको सानोठिमीमा पनि मन्त्री किरातीको पुत्ला दहन गरिएको छ । नेविसंघका नेता तथा कार्यकर्ताले सानोठिमी क्याम्पस गेट अगाडि नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् ।

काभे्रपलाञ्चोकको पनौतीमा राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक बचाउ अभियान तथा एटिएफ, वीर गोर्खाली काभ्रेको आयोजनामा मन्त्री किरातीको अभिव्यक्तिको विरोध गरिएको छ । मन्त्रीले हिन्दु धर्मको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै उनीहरुले कारबाहीको माग गर्दै मसाल जुलुस निकालेका हुन् । प्रदर्शनकारीले सुदन किरातीलाई कारवाही गर, हिन्दु राज्य कायम गर, सुदन किराती राजीनामा दे नारा लगाएका छन् ।

राष्ट्रिय एकता अभियानले पनि हिजो साँझ काठमाडौंको तीनकुनेमा मन्त्री किरातीविरुद्ध प्रदर्शन गरेको छ । संविधानसभा सदस्य बिपी यादवको नेतृत्वमा भएको प्रदर्शनमा मन्त्री किरातीको बर्खास्तीको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया