ईपीएस कोरियन भाषा परीक्षाअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ ।
उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुलाएको हो । शाखाले भोलि बिहान १० बजेदेखि ३ बजेसम्म सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्कसहित कार्यालयमा उपस्थित हुन भनेको छ ।
तोकिएको समयमा सम्पर्क हुन नआएको खण्डमा शाखा जवाफदेशी नहुने जनाइएको छ ।
गत मंसिर १९ गते शाखाले उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न सूचना प्रकाशन गरेको थियो । उक्त सूचनामा सन् २०२३ भित्र अन्य क्षेत्रतर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकले फाराम भर्न नपाउने नयाँ मापदण्ड तोकिएको थिय्यो ।
त्यसविरुद्ध सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रमा सामेल भएका आवेदकमध्ये सुरज पाठकसहित १८ जनाले उत्पादनमूलक क्षेत्रको परीक्षा आवेदन फाराम भर्न पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट हालेका थिए । अदालतले पुस ५ गते निवेदकहरुलाई फाराम भर्न रोक नलगाउनु र आवेदन फाराम भर्न दिनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसैका आधारमा ईपीएस शाखाले अदालतमा निवेदन दिएकाहरुलाई भोलि आवेदन फाराम भर्नका लागि सम्पर्कमा आउन भनेको हो ।