पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्मित पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण गरेका छन्।

पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका उनले शिवराज नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक रातो ब्यानर उघारेर अनावरण गरेका हुन् ।

सो क्रममा शाहले झन्डोत्तोलन समेत गरेका थिए । भैरहवामा रहेका शाहले नाति ह्रदयेन्द्रलाई समेत ल्याएका थिए । भैरहवादेखि बहादुरगन्जसम्मको हुलाकी बाटो हुँदै उनी शिवराजकाे खरेन्द्रपुर पुगेका हुन् ।

खरैन्द्रपुरस्थित बालहंस साङ्गवेद गुरुकूलमा रहेको स्वर्णद्वारी आश्रममा पूजापाठपछि उनले शालिक अनावरण गरेका हुन। पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए । सो क्रममा शाहले नागरिक अभिनन्दनसमेत ग्रहण गरे ।

पूर्वराजा र ह्रदयेन्द्रलाई हेर्न खैरेन्द्रपुर चोकमा भीड लागेको थियो । आधा घण्टाको बसाईपछि उनी भैरहवा फर्किए । नगरपालिकाले आयोजना गरे पनि सो कार्यक्रममा कांग्रेस, एमालेतर्फबाट निर्वाचित कुनै जनप्रतिनिधि सहभागी थिएनन् । राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको विशेष पहलमा त्यहाँ पृथ्वीनारायण शाहको शालिक निर्माण भएको हो ।

कार्यक्रममा राजतन्त्रको पक्षमा नाराबाजी गरिएको थियो । मेयर थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुनु आफैमा ऐतिहासिक क्षण रहेको बताए ।

उनले बाइसे,चौबिसे राज्यलाई एकीकरण गरी नयाँ नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहलाई यो विशेष अवसरमा सम्मान दिन पाउँदा आफूलाई निकै खुशी लागेको बताए ।

तपाईको प्रतिक्रिया