काठमाडौं ।
आज काठमाडौंमा आयोजित युवामैत्री स्थानीय शासन अभियानको छलफलमा युवा अधिकार सुनिश्चित गर्ने मुल आधारका रूपमा यस अभियानलाई तीव्रता दिन सरोकारवालाहरूले प्रतिबद्धता, ऐक्यबद्धता र चासो व्यक्त गरेका छन् ।
युवामैत्री कार्यक्रमको दोस्रो चरणको समीक्षा, र समापन आज युवा क्लब, किशोरी सञ्जालहरु , यौनीक तथा लैङ्गिक अल्पसङख्यक अधिवक्ताहरू, नागरिक समाज संगठनह विकासका साझेदार संघसस्थाहरु , सञ्चारकर्मीहरू इत्यादी गरी ५२ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित गरिएको थियो। यस कार्यक्रममा युवा मैत्री अभियानको सम्भाव्यता, चुनौतीहरू र भावी मार्गमा गहन छलफल गरिएको थियो ।
जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल सरकार राष्ट्रिय युवा परिषद् र युएनडिपि नेपालसँगको संयुक्त साझेदारीमा युवामैत्री स्थानीय शासन कार्यक्रम गत वर्षदेखि लागू गर्दै आएको छ। यो कार्यक्रम छनोट गरिएको ७ स्थानीय सरकारहरूमा पाइलट परियोजनामा रूपमा २०२२ मा सुरु गरिएको थियो भने २०२३ मा थप ७ पालिकाहरु गरी १४ वटा पालिकाहरुमा विस्तार गरिएको थियो । उक्त अभियानको समीक्षा का लागी यस कार्यक्रम आयोजित गरिएको हो ।
राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख दिनेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमको संचालन जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तथा परिषद्का कार्यकारी सदस्य तिलोत्तम पौडेलले गर्नुभएको थियो ।
युवामैत्री कार्यक्रमका तालिम संयोजक विष्णु खत्रीले अभियानको यस अभियानको परिचय दिँदै भावी मार्गको रुपमा सरोकारवालाहरूको प्रतिबद्धता र गहन संलग्नता, युवामैत्री प्रशिक्षकहरूको परिचालन, सम्पुर्ण कार्यक्रमहरुको दस्तावेजीकरण, र युवाहरूको संस्थागत सहभागिता अभियानको सफलताको लागि प्रमुख रणनीतिहरूको रूपमा आवश्यक पर्नेमा जोड दिनुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालकी कार्यक्रम संयोजक सुमिक्षा खड्काले यस अभियानको इतिहास, प्रगति र भावि मार्गहरू सहितको विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।
राष्ट्रिय युवा परिषद्की उप सचिव चन्दा थापाले व्यापक क्षमता अभिवृद्धिको प्रयासहरू पछि प्रमुख सरोकारवालाहरू युवामैत्रीको अवधारणा स्थापना भएकोमा जोड दिँदै यसको कार्यान्वयनमा द्रुत गतिको लागि आग्रह गर्नुभयो।
खुला छलफलमा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक अशोक खनाल, सिजोपका राज घिमिरे, रोशन परियार, कृषाला शर्मा, सौरभ खनाल, चेतना प्याकुरेल, सुनिता श्रेष्ठ लगायत सहभागीहरुले सीमान्तकृत युवाहरूलाई नेतृत्वको भूमिकामा मुलप्रभाहिकरण, संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव, २२५० र युवामैत्री अभियान स्थापना गर्न कृषि र प्रविधि जस्ता विभिन्न क्षेत्रहरूमा युवा संलग्नता प्रवर्द्धनमा जोड दिएका थिए ।
दिनेश घिमिरेले युवा परिषद्ले ७७ जिल्लाका एकएक पालिका र ७ प्रदेशहमा सशर्त अनुदान प्रदान, “एक विद्यालयः एक उद्यमी“ जस्ता विशेष कार्यक्रमहरू सुरु गरेर युवामैत्री अभियानलाई प्राथमिकतामा राखेको बताउनुभयो। साथै अभियानलाई थप बलियो बनाउन नागरिक समाज, संगठनहरू र विकास साझेदारहरूसँग थप सहकार्य गर्ने उत्सुकता व्यक्त गर्नुभयो ।
त्यसैगरी प्लान इन्टरनेशनलका नारायण कृष्ण श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का सदस्य विनोद शाहीले विदेश पलाएन, बेरोजगारी र लागुऔषध दुव्र्यसनलगायतका युवाहरूले भोग्नुपरेका चुनौतीका बारेमा प्रकाश पार्दै युवाहरूमा लगानी वृद्धि गरी युवामैत्री अभियानलाई दिगो अभियानको रूपमा कार्यान्वयन गरेर यी समस्याहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
युएनभी नेपालका सुरण महर्जनले युएनभीले सृजना गरेका युवा अवसरका बारेमा जानकारी दिँदै यस्ता अवसरहरूको सदुपयोग गर्न युवाहरूलाई प्रोत्साहित गर्नुभयो ।
जगृति बाल तथा युवा सरोकार नेपालले बालिका सशक्तिकरण परियोजनाकी साथी शिक्षिका सबनम सुनारले देशमा युवा संलग्नता, लगानी र समग्र विकासलाई प्रोत्साहित गर्न प्रभावकारी रणनीतिहरू, उद्यमशीलताका अवसरहरू सिर्जना गर्ने र पहुँचयोग्य स्रोतहरू सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल जनगणना, २०७८ अनुसार युवाहरूको जनसङ्ख्या (१६–४० वर्षबीचको) ४२.५६% छ, जुन २.२१% ले वृद्धि भएको हो । यो जनसांख्यिकीय परिवर्तनले नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण पललाई चिन्ह लगाउँछ, जसले ’जनसंख्या लाभांश’ प्रस्तुत गर्दछ –जहाँ युवाहरूले देशको जनसङ्ख्याको सबैभन्दा ठूलो हिस्सा ओगटेका छन्। यसले नेपालमा एक विशिष्ट सम्भावना ल्याएको छ। यस सन्दर्भमा युवामैत्री अभियानको महत्त्व झनै बढेको छ।

तपाईको प्रतिक्रिया