भन्सार विभाग घेराउ गर्न पुगेका प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजपाका उपाध्यक्ष एवं सभासद तिलक थापासहित महिला नेतृ रञ्जु साह,आर्या पाण्डेलगायत सात जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन माग गर्दै आजपाको भातृ संगठन आम सम्पर्क मञ्चले १८ दिनदेखि निरन्तर धर्ना गरिरहेको छ । झण्डै चार महिना अघिबाट शुरु गरिएको पहिलो चरणको आन्दोलनबाट माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेको मञ्चले न्यायोचित माग सम्बोधनमा सरकार पक्षले बेवास्ता गरिरहेको आरोप लगाएको छ ।

मञ्चले ‘भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने’,‘कर कानुन,राजश्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने’,‘भन्सारबाट उठेको राजस्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने व्यवस्था गर्नुपर्ने’,‘घरायसी प्रयोजनको लागि ल्याइने उपभोगको वस्तुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने’, माग राख्दै आएको छ ।

तपाईको प्रतिक्रिया