सरकारले युद्धग्रस्त मुलुकहरु रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्का गरेको छ । वैदेशिक रोजगार विभागले आज सार्वजनिक सूचना निकालेर रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको जानकारी दिएको हो ।

विभागले जारी रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरु मारिएकोले वैदेशिक रोजगारीका लागि ती मुलुकमा जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न व्यक्तिगत तथा संस्थागत रुपमा श्रम स्वीकृति दिन रोक लगाएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘हाल रसिया तथा युक्रेनबीच युद्ध भईरहेको तथा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको समाचारहरु विभिन्न् समाचार पत्रमा आइरहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिन समेत भइरहेकोले वैदेशिक रोजगारीका सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृत स्थगन गरिएको जानकारी गराइन्छ ।’

रुस–युक्रेनबीच युद्ध चलिरहेको बेलामा धेरै नेपालीहरु रुसी सेनामा भर्ना भएका छन् । रुसी सेनामा भर्ति भएका दश जना नेपालीले हालसम्म ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया