सुन्दरता र प्रेम सम्बन्धका कारण सधैँ चर्चामा रहिरहने मोडल नीति शाहलाई अन्तत: चलचित्रबाट राहत मिलेको छ । चलचित्र ‘खजुरे ब्रो’ को छायांकनले उनलाई राहत दिएको हो । यहि चलचित्रमार्फत डेब्यु गर्न लागेकी उनी एक सातायता छायांकनमै व्यस्त छिन् ।

‘पूर्व मिस नेपाल इन्टरनेश्नल’को उपाधिसमेत जितेकी नीतिले यसअघि विभिन्न चलचित्रमा साइन गरे पनि निर्माण अघि बढेको थिएन । कुनै चलचित्र घोषणा मात्र भए, बनेनन् । कुनै आधा छायांकन भएर बीचमै रद्द भए । कुनै चलचित्रमा चैं भूमिका कमसल ठानेर उनी आफैँले हात झिकिन् ।

बजारमा यस्तोसम्म चर्चा चल्न थालेको थियो कि- नीतिले साइन गरेका चलचित्र नै बन्दैनन् ! ति सबै अनुमान, आशंका र चर्चालाई असत्य सावित गर्दै लामो समयपछि उनी चलचित्र ‘खजुरे ब्रो’ को छायांकनमा व्यस्त छिन् । यो चलचित्र पनि छायांकन पश्चात रिलिज हुन्छ वा हुँदैन, थाहा छैन । तर तत्कालको लागि भने नीतिलाई राहत मिलेको छ ।

नीतिले अघिल्लो महिना मात्रै अभिनेता प्रदिप खड्कासँग काम गर्ने भन्दै चलचित्र ‘कामिनो’ मा साइन गरेकी थिइन् । तर, निमार्ण पक्षको आन्तरिक विवादले चलचित्र रद्द भयो ।

त्यसअघि सम्भव सिरोहियासँग प्रेम सम्बन्धमा रहँदा पनि सामाजिक सञ्जालमा उनी निकै भाइरल बनेकी थिइन् । अहिले सिरोहिया पूर्वमिस नेपाल श्रृंखल खतिवडासँग वैवाहिक बन्धनमा बाँधिसकेका छन् । सामाजिक सञ्जालमा सक्रिय रहिरहने नीति अचानक हराउदा सिरोहियासँगको ब्रेकअपपछि उनी डिप्रेशननमा गएको बताइएको थियो । तर, उनी आफैले भने यो कुरा स्वीकार गरिनन् । बरु उनले आफू अभिनय सिक्न भारतको मुम्बइ गएको बताइन् ।

खैर, अहिले ‘खजुरे ब्रो’को छायांकनमा व्यस्त रहेकी नीतिलाई डेब्यु चलचित्रले कत्तिको सफलता दिन्छ, त्यो पछि नै थाहा होला । तर अहिले भने उनी अभिनयको लयमा अघि बढेकी छन् ।

यस चलचित्रमा नीतिसँगै रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धरको मुख्य अभिनय छ । फिल्मलाई सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ ।

तपाईको प्रतिक्रिया