त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले यही माघ १५ गतेदेखि दिने अनलाइन सेवा प्राप्तिका लागि गर्नुपर्ने विभिन्न प्रक्रियाबारे जानकारी गराएको छ ।

कार्यालयले आउँदो सोमबारदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत अनलाइनबाटै दिन लागेको छ । त्यसका लागि सम्बन्धित विद्यार्थीले अनलाइन प्रयोग गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे कार्यालयले जानकारी दिएको हो ।

अनलाइन सेवा लिन सुरुमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेभसाइट लग इन गर्नुपर्छ । त्यसपछि सर्टिफिकेट लिंकमा क्लिक गर्नुपर्ने र साइन अप गरेपछि इमेलमा एउटा लिंक देखाउँछ । र, उक्त लिंकमा क्लिक गर्नुपर्ने जनाइएको छ ।

अनलाइन माध्यमबाट सेवा सुविधा लिने विद्यार्थीहरुको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिने कार्यालयले बताएको छ । यो सेवा माघ १५ गते सोमबार बिहान १० बजेबाट सञ्चालन हुनेछ ।

केही समयको लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्व अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशित गरिने कार्यालयले जनाएको छ ।

कार्यालयले नाम, थर आदि सच्याउने प्रक्रियाको लागि आवश्यक प्रमाणहरु आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुस्थित केन्द्रीय कार्यालय बुझाउनुपर्ने समेत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया