दिनेश राउतको निर्देशनमा बन्ने भनेको फिल्म ‘पूजार सार्की’को दुई साताअघिदेखि वर्कसप भइरहेको छ ।

निर्देशक राउतले अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह अनुबन्धित गराएर नेपाली कलाकार एकआपसमा मिलेर काम गर्न चाहँदैनन् भन्ने हल्लालाई तोड्दै स्टार नायकहरूलाई एकैसाथ पर्दामा देखाउने आशा सहित बजारमा तरंग सिर्जना गराएका थिए ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ फिल्ममा आउँदा यसले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ ।

विकास सुवेदीको लेखन रहेको यो फिल्मले जातीय विभेद विरुद्धको कथालाई बोक्ने बताइएको छ । साथै, फिल्मले सामाजिक रूपान्तरणका लागि हिँडेको एक युवाले कसरी आफ्नो थरको पछाडि सार्की राख्छ भन्ने कथालाई उठान गर्ने बुझिएको छ ।

माघ पहिलो सातादेखि छायांकन सुरु गरिने बताइएको यस फिल्मको सुटिङ भनेकै मितिमा जान नसकेपछि एक हप्ता पछि सार्दै १० गतेबाट सुरु गरिने बताइएको थियो । यस मितिमा पनि छायांकन सुरु गर्न नसकेपछि निर्माण टिमले माघको मध्यबाट सुरु गराउने बताउँदै आएको छ । उनीहरूले तय गरेको माघको मध्य पनि सकिने अवस्था हुँदा छायांकन अझै कहिलेबाट सुरुवात गराउने हुन् यकिनका साथ केही भन्न सकेका छैनन् ।

तीन ‘स्टार’ नायकहरूलाई एकसाथ काम गराउन सफल भएको निर्माण टिमले तोकिएको मितिमै छायांकन गराउन नसकेपछि यस भित्र विवाद सिर्जना भएकै कारण सुटिङ रोकिएको बताइएको छ । निर्माण अगावै फिल्मको चर्चा जति उत्कर्षमा छ, हालै निम्तिएको विवादका बारेमा पनि चर्चा उतिकै छ ।

फिल्म भित्रकै एक सदस्यका अनुसार यो फिल्ममा तीन नायकको आफूले गर्ने रोलका विषयलाई लिएर विवाद उत्पन्न भएको बताएको छ ।

उनले भने, ‘सुरुमा रोलको केही कुरै नभई तीन नायकहरू अनुबन्धित गराइयो । उनीहरूले पछि रोलको कुरा गर्न थाले । यसैक्रममा रोल थोर र धेरैकै कुराले भनेकै समयमा छायांकन हुन नसकेको हो ।’

फिल्मका नायकद्धय आर्यन र प्रदीप जसरी वर्कसपमा केन्द्रित हुँदा अर्का नायक पल वर्कसपमा नबसेर महोत्सवमा सहभागी भइरहेका थिए । पल गेरुवा महोत्सव, घोडाघोडी महोत्सव, सल्यान महोत्सव, राप्ति महोत्सव र टिकापुर महोत्सवमा सहभागी हुनुले निर्माण टिमसँग रुष्ट भएकै कारण वर्कसपमा सहभागी नभएका हुन् भन्ने गाइँगुइँ समेत सुनिएको थियो ।

फिल्मको छायांकन गराउन आर्थिक अभाव पनि रहेको सदस्यको दाबी छ । एक दर्जन फिल्ममा संगीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका छन् ।

‘फिल्मको छायांकन गर्न नै करिब सवा दुई देखि तीन करोड रुपैयाँ आवश्यक पर्छ । त्यत्रो रकम निर्माण टिमसँग नरहेको र फिल्मको ओभरसिज राइटस् कहीँ कतैबाट नजुट्नु । फिल्मका जो निर्माता रहेका छन् उनी पनि आर्थिकरुपमा सक्षम नभएकाले फिल्मको छायांकन तत्कालै सुरु गर्न नसकेको हो । निर्माता भुसाल संगीत क्षेत्रका व्यक्ति हुन् । उनीसँग करडौं रुपैयाँ लगानी गर्न कठैबरीकै अवस्था छ । त्यही भएर आँट गरेर फिल्ममा लगानी हाल्न सकेका छैनन् । तर, फिल्मले जातीय विभेद विरुद्धको कथा भन्ने भएकाले निर्माण टिमले सहयोग जुटाई रहेको छ । यसका लागि विदेशबाट दलितहरूको नाममा हुने फन्डीङ (दात्री निकायबाट हुने सहयोग) बाट रकम आइरहेको र त्यो रकम निकै जम्मा हुनेवाला छ ।’, ती सदस्य बताउँछन् ।

यता, फिल्मका लेखक विकास सुवेदीसँग हामीले कुरा गर्दा यी सबै कुरा झुटा रहेको बताए । उनले कुनै पनि विवाद नरहेको र कलाकारहरूसँग निर्माण टिम नै पार्टनर सिप ‘मुनाफा’मा काम गर्न लागेको बताए। साथै, फिल्म बनाउन कतैबाट विदेशी फन्डीङ नलिएको बताउँछन् ।

सुवेदीले भने, ‘हामी माघ १६ गते शुभमुर्हत गरेर छायांकनमा जाने तयारी गरिरहेका छौँ । फिल्मका कलाकरहरु पनि तयारी अवस्थामै हुनुहुन्छ । जसका लागि समपूर्ण तयारी भइसकेको छ । हामी यति ठुलो टिम बनाएर फिल्म बनाउँदै छौँ सानातिना हल्लाकै पछाडि लाग्नु भएन, यसमाथि हामी सबै मिलेर फिल्म बनाउने भएका छौँ । आर्यन, प्रदीप र पलले नै पारिश्रमिक नलिई फाइदामा बसेर काम गर्ने भएका छौँ । स्टार नायकहरूलाई एकैसाथ फिल्ममा लिइँदा त धेरै खर्च हुन आउँछ । हामी निर्देशक, लेखक र कलाकारको पारिश्रमिक मात्रै जोडने हो भने नै तीन करोड भन्दा बढी बजेट पुग्छ । त्यसैका लागि त हामीले मिलेर काम गर्ने भएका हौँ । मिलेर काम नगरे त करोडमा हिसाब कति आउँछन् आउँछन् ।

‘निर्मातासँग पैसा किन छैन ? उहाँको प्रैतिक सम्पत्ति छ । फिल्म बनाउनकै लागि उहाँले जतिपनि रकम जुटाउन सक्नु हुन्छ’, उनले भने ।

यस्तै, सुवेदीले फिल्मको ओभरसिज राइटस् समेत बिक्री भइसको बताए । उनले अघि थपे, ‘फिल्मको ओभरसिज राइटस् विक्री भइसकेको छ । हामीले अरु जस्तो यतिमा बिक्यो उतिमा बिक्यो भनेर झ्याली पिट्न नखोजेको मात्र हौँ । केही कम्पनीसँग विदेश राइटस् विक्री गरिसकेका छौँ । केही देशकालागि हामी आफैँले पनि राखेका छौँ । म आफैले पनि पहिला देखिनै केही फिल्मको विदेश प्रदर्शन गर्दै आइरहेकै हुँ । अहिले फिल्मको छायांकन पुरा होस् त्यस पछि थुप्रै कुरा भन्ने र देखाउने छौँ ।’

‘पूजार सार्की’ किंगडम नेटवर्कको ब्यानरमा निर्माण हुन लागेको हो । यस फिल्ममा दुई अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दै छन् । बराइलीले यसअघि ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छिन् । यस्तै, आउँदो वर्षको जेठ ११ गते फिल्म रिलिज गर्ने तयारी गरिएको फिल्मको वितरणको जिम्मा आरआर फिल्मसले लिएको छ ।

यसरी छायांकनमा जान नसकेको फिल्मले जेठ ११ गते रिलिज गर्ने तयारी गरिनुमा वितरक देखि निर्देशकहरूको फिल्म ‘फर्की फर्की’का निर्मातालाई बदला देखाउने गरी प्रदर्शन गर्न लागिएको चर्चा समेत छ । तर, पूजार सार्की टिमले भने आधिकारिक रूपमा प्रदर्शन मिति सार्वजनिक गर्न सकेको छैन ।

यता, हालै निर्माण पक्षले सार्वजनिक गरेको तस्बिर हेर्दा फिल्मको टिमसँग असन्तुष्ट रहेका पल आफूले गर्ने रोल केही प्रतिशत थप भएपछि वर्कसपमा जोडिएका हुन् ? भन्ने आशंका गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया