काठमाडौँमा रहेका पेट्रोल पम्पले सेवाग्राहीको निम्ति अनिवार्य रुपमा निःशुल्क शौचालय उपलब्ध गराउनुपर्ने भएको छ । गत पुसमा पेट्रोल पम्पहरुको अध्ययन गर्न गठित समितिले आज महानगरपालिका र सरोकारवालहरुसँग गरेको छलफलमा पेट्रोल पम्पहरुलाई अनिवार्यरुपमा निःशुल्क शौचालय उपलब्ध गराउन निर्देशन दिएको छ ।
नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर एशोसिएसनलगायत सम्बन्धित निकायका प्रतिनिधिहरु रहेको समितिले गरेका विभिन्न निर्णयमध्ये त्यो पनि एक रहेको बताइन्छ ।
नगरप्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी नेतृत्वको समितिले पेट्रोल पम्पहरुको पहिचान तथा एकरुपताको लागि पहेलो रंग लगाउनुपर्ने निर्णय पनि गरेको छ । त्यस्तै पम्प परिसरमा हरियाली प्रवद्र्धनको निम्ति निर्देशन दिइएको छ । पम्पमा कार्यरत नोजलमेनले सुरक्षा पोशाक अनिवार्य रुपमा लगाउनुपर्ने छ ।
पम्पमा कार्यरत कर्मचारीहरुलाई महानगरले आगलागी नियन्त्रण सम्बन्धमा आधारभूत तालिम दिने सहमतिसमेत गरिएको छ ।