सुनसरीको इटहरी उपमहानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने भएको छ ।
आउँदो नयाँ शैक्षिक सत्रबाट उपमहानगरले नगरमा सञ्चालित सबै विद्यालयमा एउटै पोशाक लागू गर्न लागेको हो । १३४ वटा निजी र १७० वटा सामुदायिक विद्यालयको पोशाक एउटै कायम गरिने नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।
उनका अनुसार ६३ हजार ५२६ विद्यार्थी एउटै पोशाकमा विद्यालय जानेछन् । विद्यार्थीको पोशाकमा विविधता देखिएकाले नगर शिक्षा समितिले सो निर्णय गरेको मेयरको भनाइ छ ।
उनले भने,‘इटहरीभित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकै खालको पोशाक लगाउनुपर्ने गरी नियम बनाएका छौं । विद्यार्थीको पोशाकमा विविधता देखिएकोले एकरुपता ल्याउन यो निर्णय गरेका हौं ।’ टाई हटाएर भादगाउँले टोपी राख्ने निर्णय भएको उनले जानकारी दिए ।
त्यस्तै, उपमहानगरका कर्मचारी र जनप्रतिनिधिले अब आफ्ना सन्तानलाई अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने भएको छ । नगरप्रमुख पौडेल भन्छन्,‘महानगरका विद्यालयमा अब टाई देख्न पाइने छैन् । पोशाक देखेर सबैले इटहरीका विद्यार्थी भनेर चिनुन् भन्ने हाम्रो उद्देश्य हो । विद्यालयहरुले मँहगोमा टाईदेखि मोजासम्म बेचेको गुनासो आइरहेको थियो । यसमा अब रोक लाग्छ ।’
साथै, उपमहानगरले विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बेच्न प्रतिबन्ध लगाएको छ । एक पटक भर्ना शुल्क लिएपछि वर्षैपिच्छे लिने प्रवृत्तिमा पनि उपमहानगरले अंकुश लगाएको छ । हरेक वर्ष कक्षा चढ्दा भर्ना शुल्क लिँदै आइएकोमा अब त्यसो गर्न नपाइने उपमहानगरले जनाएको छ ।