उत्पादन क्षेत्रमा कामदारको रुपमा दक्षिण कोरिया जान चाहनेहरुको भाषा परीक्षाको मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो ।
आगामी सोमबारदेखि शुरु हुने परीक्षाको केन्द्र ललितपुरको भैसेपाटीमा रहेको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान तोकिएको छ । रजिष्ट्रेशन नम्बरअनुसार आलोपालो परीक्षा हुने शाखाले जनाएको छ ।
परीक्षार्थीहरु परीक्षाका दिन बायोमेट्रिकका लागि दुई घण्टाअगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ । निर्धारित मिति, समय र सिफ्टमा सक्कल राहदानी र प्रवेशपत्रसहित उपस्थित हुन नसक्ने परीक्षामा सामेल हुन नपाउने बताइएको छ ।
परीक्षार्थीले परीक्षा हलभित्र कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान पाउने छैनन् । त्यस्तै, परीक्षामा चिट लगेको वा अन्य अवाञ्छित कार्य गरेको भेटिएमा परीक्षा रद्द गरेर चार वर्षका लागि निषेध गरिने जनाइएको छ ।
गत माघ २२ गते परीक्षा मिति प्रकशन गर्ने भनिएकोमा प्राविधिक समस्यापछि शाखाले आज परीक्षा मिति र केन्द्रबारे जानकारी गराएको हो ।