महिला यौनकर्मीहरुले मादक पदार्थ र लागुपदार्थ सेवनपछि मात्र ग्राहकहरुसँग सम्बन्ध राख्ने गरेको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा नशा सेवनपछि मात्र महिला यौनकर्मीहरुले ग्राहकसँग सम्बन्ध राख्ने गरेको पाइएको छ ।
परिषद्ले पोखराका ३६४ जना महिला यौनकर्मीहरुमा गरेको सर्वेक्षण तथा अध्ययनमा उक्त तथ्य फेला परेको हो । तीमध्ये विवाहित १६९ जना, अविवाहित ८१ जना, सम्बन्धविच्छेद गरेका ९९ जना र एकल महिला यौनकर्मी १५ जना हुन् ।
सर्वेक्षणको क्रममा ६० प्रतिशतभन्दा बढी यौनकर्मीले मदिरा सेवन र १० प्रतिशत यौनकर्मीले लागुऔषध (सुई) प्रयोग गरेपछि मात्रै सम्बन्ध राख्ने गरेको पाइएको छ । परिषद्को अध्ययन प्रतिवेदनमा २ प्रतिशन महिलाहरुले नशा सेवन गर्न आवश्यक रकमको निम्ति शारीरिक सम्बन्ध राख्ने गरेको बताएका छन् ।
अधिकांश यौनकर्मीलाई यौनरोगबारे खासै जानकारी नभएको पनि परिषद्ले जनाएको छ । सर्वेक्षणमा एचआइभी एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा पाइएको छ ।
धेरैजसो यौनकर्मीले परिवार पाल्नका लागि यौन व्यवसायमा आबद्ध भएको बताएका अनुसन्धानकर्ता प्रतिमा दवाडीले बताइन् । यौन व्यवसायमा २१ वर्षदेखि ३० वर्ष उमेर समूहका महिलाहरु बढी सक्रिय रहेको पाइएको छ ।