विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० का अवसरमा शुभकामना दिनुहुँदै मेयर कोइरालाले वि.सं. २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको उल्लेख गर्नुभएको छ । “जनताको एकताबद्ध सामथ्र्यले जस्तोसुकै निरंकुशतालाई पराजित गरी मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता बहाल गर्न सक्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदैव स्मरण गराउँछ । आज हामीले हासिल गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो,” शुभकामना सन्देशमा भनिएको छ ।
उहाँले विराटनगर महानगरपालिकावासीसहित देश विदेशमा बसोबास गनुहुने सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ । उहाँले देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको सम्वद्र्धनका लागि विभिन्न समयमा भएका आनन्दोलनमा जीवन आहुति दिनुभएका सम्पूर्ण महान् सहिदहरूप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गर्नुभएको छ । मेयर कोइरालाले लोकतन्त्र प्राप्तिका लागि भएका सबै खाले आन्दोलनका क्रममा घाइते र अपाङ्ग हुनुभएका सम्पूर्णको अमूल्य योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मानसमेत व्यक्त गर्नुभएको छ ।
“वर्तमान शासन व्यवस्थाले दशकौंदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्त रूप दिन सक्नुपर्दछ । यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु जरुरी छ,” मेयर कोइरालाले व्यक्त गरेको शुभकामना सन्देशमा भनिएको छ, “जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्दछ ।”
उहाँले सबै मिलेर सुशासन, विकास, दिगो शान्ति, राष्ट्रिय एकता र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ । कोइरालाले दिवसलाई दिवसमा मात्रै सीमित नराखेर त्यसबाट प्रेरणा र ऊर्जा लिएर जनताका आकांक्षा पूरा गर्न इमान्दारीपूर्वक लाग्नु आवश्यक रहेको औंल्याउनुभएको छ ।