खोटाङको खोटेहाङ गाउँपालिकाले सार्वजनिक पद धारण गरेका सबैले आफ्ना सन्ततिलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।

पालिकाको गत चैत ८ गतेको बैठकले सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ति यस्तो निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत महेश राईले पालिकाबाट तलब भत्तालगायत आर्थिक सुविधा प्राप्त गर्ने शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आउँदो शैक्षिक सत्र २०८१ मा आफ्ना बालबालिकालाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने बताए ।

पालिकाद्वारा जारी सूचनामा भनिएको छ, ‘सबै प्रकारका शिक्षक, कर्मचारी र निर्वाचित जनप्रतिनिधिलाई आगामी शैक्षिक सत्र २०८१ मा आफ्ना बालबालिकालाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध छ ।’

अटेरी गरी आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गरेको पाइए सम्बन्धित कर्मचारीको तलब भत्तालगायत सुविधा रोक्का गर्ने सूचनामा जनाइएको छ ।

तपाईको प्रतिक्रिया