नेपाली फिल्म क्षेत्रमा सफल निर्माता रूपमा स्थापित विनोद पौडेल अब नयाँ भूमिकामा देखिने भएका छन्। पूर्ण बहादुरको सारङ्गी जस्तो चर्चित फिल्म निर्माण गरेका पौडेलले अब निर्देशनमा हात हाल्दै आफ्नो पहिलो निर्देशकीय फिल्म ‘दुई किनारा’ घोषणा गरेका हुन्।

नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको फिल्मको शीर्षकसँगै पोस्टरले नै दर्शकमाझ चासो जगाएको छ। पोस्टरमा पहाडका दुई बिल्कुल फरक रूप देखिन्छन त्यस्तै  एक्कातिर हरियालीले ढाकिएको सुन्दर वनजंगल,भने अर्कोतिर उजाड र सुनसान पहाड। यी दुई दृश्यलाई जोड्ने साँघुरो, नागबेली बाटोले जीवनका दुई किनारा सुख र दुःख बीचको यात्रा संकेत गर्छ।

पोस्टरको प्रतीकात्मक प्रस्तुति हेर्दा फिल्मले जीवनका साना निर्णयहरूले ल्याउने ठूला परिणामहरूको कथा भन्ने अनुमान गर्न सकिन्छ। यसले दर्शकलाई भावनात्मक र विचारशील दुवै बनाउने संकेत दिएको छ। निर्माण टिमले फिल्मलाई २०८४ साल वैशाख १ गते प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको छ। यद्यपि, कलाकार, कथा र प्राविधिक टिमबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन, जसले अझै उत्सुकता बढाएको छ।

यसअघि पौडेलको निर्माणमा बनेको पूर्ण बहादुरको सारङ्गी नेपाली फिल्म उद्योगकै सर्वाधिक कमाइ गर्ने फिल्ममध्ये पर्न सफल भएको थियो। त्यसपछि उनले ‘अभिमन्यु’ निर्माण गरे भने अहिले रोल नं १ प्रदर्शनको तयारीमा छ। लगातार सफल निर्माणपछि अब विनोद पौडेल आफ्नो निर्देशन क्षमतासहित नयाँ यात्रामा निस्किएका छन्। ‘दुई किनारा’ उनको लागि केवल फिल्म होइन, एउटा नयाँ सुरुवात पनि हो जहाँ उनले आफ्नै दृष्टि र कथनशैली प्रस्तुत गर्नेछन्।

तपाईको प्रतिक्रिया