विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल पंखा वितरण गर्नुभएको थियो । पहिलो दिन ४० जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
त्रिवेणीमार्गस्थित ज्येष्ठ नागरिक चौतारी आयोजित कार्यक्रममा आउन नसकेका ज्येष्ठ नागरिकको घरमै पुगेर पंखा वितरण गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष बस्नेतका अनुसार वडाभित्रका सबै ज्येष्ठ नागरिकले पंखा कार्यक्रमलाई निरन्तरता दिइनेछ । वडाभित्र १ सय ७० जना ज्येष्ठ नागरिक रहेको तथ्यांकमा उल्लेख छ । उनीहरू सबैलाई टेबल पंखा वितरण गरिनेछ । कार्यक्रमस्थलमा आउन नसक्नेलाई घरमै पुगेर वितरण गरिने उहाँले जानकारी दिनुभयो । कार्यक्रम सफल बनाउन वडाका स्वास्थ्य स्वयमसेविकाहरूको अहम भूमिका रहेको भन्दै वडाध्यक्ष बस्नेतले धन्यवादसमेत दिनुभयो ।
यसअघि वडाको आर्थिक सहयोगमा ज्येष्ठ नागरिकहरूलदाई स्वर्गद्वारीसहितका विभिन्न स्थलको ७ दिने धार्मिक यात्रासमेत गराइएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । चौतारीमा बस्न र गफ गर्न आउने ज्येष्ठ नागरिकहरूलाई वडाले चियाको समेत व्यवस्था मिलाएको छ ।