विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराट नर्सिङ होममा उपचाररत विराटनगर–६ की निर्मला शर्माका १३ दिने शिशुको डिस्चार्ज गरिएको छ । शर्माको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा लागेको खर्च तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । १ लाख १५ हजार खर्च भएकोमा अस्पतालले २५ हजार रुपैयाँ छुट गरेर ९० हजार मागेको थियो । सो रकम तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । मेयर कोइराला आफैं अस्पताल पुगेर खर्च भएको ९० हजारको जिम्मेवारी लिएर शिशुको डिस्चार्ज गराउनु भएको हो । कोइरालाले नर्सिङहोमका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई आग्रह गरेपछि रकम नबुझाइकनै शिशुको डिस्चार्ज दिन नर्सिङहोम तयार भएको थियो ।
कोशी अस्पतालमा शिशुको जन्म भएको थियोे । शिशुको अवस्था गम्भीर भएपछि विराट नर्सिङहोममा एनआइसीयुमा राखेर उपचार गरिएको थियोे । अस्पताल ल्याउँदा शिशुको अवस्था अत्यन्तै नाजुक रहेको नर्सिङ होमका जनसम्पर्क अधिकारी केदार पोखरेलले जानकारी दिनुभयो । उहाँले शिशुलाई एनआईसीयूमा राखेर निकै प्रयासपछि बचाउन सकेको बताउनुभयो ।