विराटनगर ÷ खोटाङ सामाजिक सेवा मञ्चले विगत चार दशकभन्दा लामो समयदेखि साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका संखुवासभाका साहित्यकार ताराबहादुर बुढाथोकीलाई सम्मान गरेको छ ।
मकालु साहित्य समाज र दक्षिण एसियाली साहित्यिक सांस्कृतिक संगठनका अध्यक्षसमेत रहेका बुढाथाकीलाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो । मञ्चको साहित्यिक उन्नयन उपसमितिको संयोजनमा भएको कार्यक्रममा बुढाथोकीलाई वरिष्ठ साहित्यकार बलराम पोखरेल, गायत्रीकुमार चापागाईं, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । बुढाथोकीका जीवनको सीमारेखा, परमेश्वरको एघारौं अवतार, अरुण उपत्यकाका लोकभाका, भाडाकुटी, बाउ, जिन्दगीका कुइनेटा, काँडेभ्याकुरलगायत एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
सोही अवसरमा कवि भरत गुरागाईं बर्बरिक, शारदा भट्टराई, नानुमैया दाहाल, जेवी खत्री, पुष्प चौलागाईं, उमानाथ भट्टराई, हेमसागर पोखरेल, चूडामणि घिमिरे, राधिका पोखरेल, केदारनाथ ढकाल, आष्मा खतिवडा, एलपी पराजुली, अच्युत पौडेल विष्णुप्रसाद वाग्ले, किस्मत खतिवडा, धर्मराज चापागाई), सचिन अधिकारी, प्रतिमा खतिवडा निरौला, फडिन्द्र पराजुली, अच्युतप्रसाद खतिवडा, कर्ण संजय, मदन भण्डारी, चन्द्रकान्त भट्टराई, भगवानीप्रसाद पोखरेल, रमेश खतिवडालगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरुले आ—आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । मञ्चले हरेक महिनाको पहिलो शनिबार एकजना स्रष्टालाई सम्मानसहित सिर्जना वाचन कार्यक्रम आयोजना गर्दै आएको छ ।
साहित्यकार बुढाथोकीलाई खोटाङ सामाजिक सेवा मञ्चको सम्मान










