नेपाली फिल्म छेत्रमा सफल फिल्म दिएका निर्माता रोहित अधिकारीले आफ्नो चौथो प्रोजेक्ट ‘माइतीघर’ को शुभसाइत गर्दै औपचारिक रुपमा छायांकन सुरु गरेका छन् । पश्चिमी म्याग्दीको रमणीय तथा पर्यटकीय गाउँ ताकमबाट यस प्रतिक्षित फिल्मको छायाङकन थालिएको हो । फिल्म यसै वर्षको दशैँलाई लक्षित गरेर फूलपाती को दिनदेखि सार्वजनीक प्रदर्शनमा आउने छ ।

धौलागिरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित स्थानीय गणेश मन्दिर परिसरमा बिहीबार एक विशेष मुहूर्त पूजा र शुभसाइत कार्यक्रम आयोजना गरी फिल्मको निर्माण प्रक्रिया अगाडि बढाइएको हो । यस अवसरमा फिल्मका सम्पूर्ण ‘कास्ट एन्ड क्रू’ सँगै स्थानीय जनप्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले फिल्मको क्ल्याप ठोकेर र वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेर छायांकनको विधिवत् शुभारम्भ गरेका थिए । फिल्मका निर्माता अधिकारीले दिएको जानकारी अनुसार, ‘माइतीघर’को कूल ४० दिन लामो छायांकन तालिका तय गरिएको छ । यसमध्ये पहिलो २० दिन ताकम र नजिकैको धारापानी गाउँका सुन्दर दृश्यहरुमा छायांकन गरिनेछ । बाँकी २० दिनको सुटिङ भने दरबाङ बजार नजिकै रहेको प्रसिद्ध तातोपानी क्षेत्रमा केन्द्रित हुनेछ ।

धौलागिरी हिमश्रृंखलाको मनमोहक दृश्य देखिने ताकम क्षेत्र म्याग्दीको एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो र स्थानीय जनप्रतिनिधिहरुले यस्ता फिल्म छायांकनले ‘फिल्म पर्यटन’ लाई बढावा दिने आशा राखेका छन् ।

मिलन तामाङले निर्देशन गर्ने यस फिल्ममा नेपाली फिल्म क्षेत्रका लोकप्रिय कलाकारहरु धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर बाङ्देल लगायतको अभिनय रहनेछ । फिल्मको छायांकनको जिम्मेवारी सुसन प्रजापतिले सम्हालेका छन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको यो फिल्ममा निर्माता अधिकारीसँगै रविन शेरचन र धीरज तामाङको पनि लगानी छ भने इश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया