मिलन तामाङको निर्देशनमा तयार भइरहेको फिल्म ‘माइतीघर’को धमाधम छायांकन भइरहेका बेला सेटबाट अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को एक विशेष लुक्स सार्वजनिक भएको छ । सार्वजनिक तस्विरमा घिमिरे खाटमा बसेर मोबाइल चलाइरहेको देखिएका छन् । उनको हाउभाउ र पहिरनले गर्दा धेरैले यो लुक्स गाउँको मुखियाको हुनसक्ने अड्कल काट्न सक्छन्, यद्यपि निर्माण पक्षले भने यस विषयमा केही खुलाएको छैन ।
यो फिल्म तामाङ समुदायको संस्कृति र जीवनशैलीलाई नजिकबाट पस्किने जनाइएको छ । ‘माइतीघर’ लाई दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमले गरिसकेको छ ।
हाल म्याग्दीको रमणीय ताकम गाउँमा फिल्मको छायांकन चलिरहेको छ । निर्माण टिमका अनुसार, ताकम गाउँमा करिब २० दिन र त्यसपछि दरबाङको तातोपानी क्षेत्रमा थप २० दिन छायांकन गरिनेछ ।
रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । फिल्ममा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका सशक्त कलाकारहरुको अभिनय देख्न सकिनेछ । फिल्ममा सुशन प्रजापतिको छायांकन रहनेछ ।